निर्यात व्यापारका दुःख : करोडौं घाटा खाएर पौने ४ अर्बको अलैंची निर्यात, ‘टनमै ७७ हजार घाटा’
काठमाडौं,माघ १७। नेपालले चालू आर्थिक वर्षको पहिलो ६ महीनामा ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको अलैंची निर्यात गरेको छ । उक्त मूल्यको ४६ लाख ७२ हजार ९३४ किलोग्राम अलैंची निर्यात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।
गत वर्षको सोही अवधिमा नेपालले २ अर्ब २८ करोड रुपैयाँ बराबरको २६ लाख ६ हजार ७०३ किलोग्राम अलैंची निर्यात गरेको थियो । गत वर्षको सो अवधिको तुलनामा यो वर्ष अलैंची निर्यात ६३.५१ प्रतिशतले बढेको हो ।
नेपालबाट अलैंची निर्यात बढेपनि मूल्य भने घटेको छ । गत वर्ष प्रतिकिलो ८७७ रुपैयाँका दरले निर्यात भएको अलैंची यो वर्ष भने प्रतिकिलो ८०० रुपैयाँमै निर्यात भएको देखिन्छ ।
अलैंचीको निर्यातले पनि व्यापार घाटा घटाउन टेवा पुग्ने तथ्याङ्कले बताउँछ । गत वर्ष भरिमा नेपालले ४ अर्ब ८१ करोड रुपैयाँ बराबरको ५३ लाख ६७ हजार ४४३ किलोग्राम अलैंची निर्यात गरेको थियो ।
नेपालले अलैंची भारत र पाकिस्तानमा निर्यात गर्ने गरेको छ । यो ६ महीनामा अवधीमा नेपालले सबैभन्दा धेरै भारतमा ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको ४६ लाख ६२ हजार ९३४ किलोग्राम र पाकिस्तानमा ४५ लाख ४९ हजार रुपैयाँ बराबरको १० हजार किलोग्राम अलैंची निर्यात गरेको छ ।
नेपाली अलैंची खाडी मुलुकमा निर्यातको ढोका खुलेपनि अहिलेसम्म भारत र पाकिस्तान बाहेका देशमा नेपालले अलैंची निर्यात गर्न सकेको छैन । नेपालले भएभरको अलैंची भारतमै निर्यात गरिरहेको छ । जसका कारण नेपाली किसानले अलैंचीको उचित मूल्य पाउन नसकेको कृषकहरू बताउँछन् ।

