दुई पटकसम्म निःशुल्क हुने अन्तर बैंक एटीएम कारोबारको व्यवस्था हट्यो, अब कति रुपैयाँ लाग्छ ?
काठमाडौं,माघ १७ । नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम शुल्क घटाएको छ । एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी नगद झिक्दा लाग्ने शुल्क घटाइएको हो ।
राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै बैंक तथा वित्तीय संस्थाले जारी गरेका भुक्तानी कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा प्रतिकारोबार बढीमा रू. १५ सम्म शुल्क लिन सकिने जनाएको छ ।
यसअघि एउटा बैंकले जारी गरेको एटीएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा मासिक न्यूनतम दुई कारोबारसम्म निःशुल्क हुने र दुईभन्दा बढी कारोबारको हकमा प्रतिकारोबार रू. २० सम्म शुल्क लिन सकिने व्यवस्था थियो । अब मासिक दुईओटासम्म कारोबार निःशुल्क पाइने व्यवस्था भने हटाइएको छ ।

