सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं,माघ १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत उपाध्याय, वडा नं ६ का तत्कालीन वडाध्यक्ष, सब इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसहित सात जनाविरुद्ध फिल्ड निर्माण गर्ने क्रममा गलत प्रतिवेदन तयार गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।

गाउँपालिका–६ सोरुकोटस्थित खौलाचौर फिल्ड निर्माण योजनामा अधिकृत उपाध्यायसहित सबइन्जिनियर मनोज धामी र जगतबहादुर मल्लले गलत नापी किताब तयार गरी सो नापी किताब स्वीकृत एवं फिल्डमै नगई नगरेको कामको मूल्यांकनसहित उपभोक्ता समितिलाई १५ लाख ४४ हजार ९ सय ३० रुपैयाँ भुक्तानी गरेको अख्तियारको ठहर छ ।

यसैगरी सोही फिल्ड निर्माण उपभोक्ता समितिका अध्यक्ष रतनबहादुर शाही, सचिव धर्मबहादुर मल्ल र कोषाध्यक्ष धनदेवी छत्याल (शाही) ले गाउँपालिकासँग गरेको सम्झौताविपरीत फिल्डमा नभएको कामसमेत नापी किताबमा चढाएको र तत्कालीन वडाध्यक्ष मनप्रसाद भट्टले फिल्डमा हुँदै नभएको काम पनि कार्य सम्पन्न भएको भनी भुक्तानी गरिदिनका लागि सिफारिश गरेको आरोपमा उनीहरूविरुद्ध पनि रिट दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्