१९ वर्षमा पनि सुध्रिएन टेलिकमको कार्यसम्पादन, वार्षिकोत्सवमै अतिथिले उठाए प्रश्न



काठमाडौं,माघ २३ । नेपाल दूरसञ्चार कम्पनीले आइतवार (आज) आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रममा अतिथिबाट भने आलोचित बनेको छ । 

कार्यक्रममा उपस्थित अधिकांश अतिथिले टेलिकमको कार्यसम्पादनमाथि प्रश्न उठाएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालन समिति अध्यक्षसमेत रहेका बैकुण्ठ अर्यालले कम्पनीले ‘टिन एज’ पार गरिसकेको भन्दै अझै परिपक्क भएर काम गर्नुपर्ने बताए । 

‘टेलिकममा धेरै काम गर्नुपर्ने छ । तर, किन ढिलो भएको छ ? यसका पछाडि धेरै कारण होलान्, १९ औं वर्षमा पुगेछ, यसको मतलव टिनएज पार भएको छ, परिपक्कता आउनु पर्याे,’ उनले भने, ‘सहज सेवा पाइएन भनेर मलाई समेत गुनासो आउने गरेको छ । यो राम्रो भएन, अब सुध्रिनु पर्छ । तपाईंका समस्या समाधानमा हामी सकारात्मक छौं ।’ 

उनले उल्लासको समयमा पनि आलोचना गर्नु राम्रो नभएको तर भन्नै पर्ने अवस्था भएको बताए । ‘नियामकलाई पनि नियामक जस्तै बन्नुस् न भन्ने गरेका थियौं । आज नियामक जस्तै देखिनु भयो, यो राम्रो कुरा हो । उल्लासको दिनमा पनि आलोचना गर्नै पर्ने भयो, सुध्रिनुस्,’ उनले भने । 

कार्यक्रममा विशेष अतिथिको रूपमा सहभागी भएका नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पनि टेलिकमको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गरे । उनले टेलिकमले पाएका राष्ट्रिय स्तरका परियोजना निर्माणमा समेत ढिलाइ गरेको तथा अझैसम्म पनि 5G परीक्षणमा ढिलाइ गरेको भन्दै छिटोसम्पन्न गर्न निर्देशन समेत दिए । 

‘हामीले 5G परीक्षणलाई दुई ओटा बीटीएसबाट सर्वसाधारणमा नलगी आन्तरिकरूपमा प्राविधिक परीक्षण गर्नकै लागि मात्र अनुमति दिएका थिएनांंै,’ उनले भने, ‘कम्तीमा काठमाडौं रिङरोडभित्र सर्वसाधारणले समेत अनुभव गर्न पाउनेगरी यसको परीक्षण होस् भन्ने चाहेका हौं ।’ उपभोक्ता र सेवाप्रवाह बढ्दा पनि कम्पनीको नाफा घट्नुको कारण खोजी गरिने समेत उनले बताए । 

नियामक निकाय प्राधिकरणले टेलिकमलाई 5G परीक्षणका लागि २६०० मेगाहर्ज ब्याण्डमा निःशुल्क फ्रिक्वेन्सी उपलब्ध गराएको छ ।  टेलिकम भने आन्तरिक तयारी नपुगेको भन्दै आज गर्ने भनिएको औपचारिक फाइभ–जी परीक्षणको काम भने रोकेको छ । 

आफ्नो कमजोरी लुकाउने प्रयासमा टेलिकम लाग्दा नियामक लगायतका सरकारी प्रतिनिधि सार्वजनिकरूपमै आलोचनामा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्