नुवाकोट महोत्सवमा जिल्लास्तरीय लाखे नाच प्रतियोगिता हुने



नुवाकोट,माघ २५ । सातौँ नुवाकोट महोत्सवमा आगामी फाल्गुण ३ गते जिल्लास्तरीय लाखे नाच प्रतियोगिता हुने भएको छ ।

पिपलटारमा हुने महोत्सवमा जिल्लाभर रहेका लाखे संस्कृतिको सम्बर्द्धनको लागि प्रतियोगिता आयोजना गर्न लागिएको लाखे नाच प्रतियोगिता उपसमितिका संयोजक तथा नुवाकोट उद्योग वाणिज्य संघका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले बताए । लाखे नाच लगायतका अमूर्त सम्पदाहरुको सांस्कृतिक धरोहरको रुपमा रहेको चाडपर्वलाई जिवन्त राख्न लाखे नाचको आयोजना गरिएको उनले बताए ।

“नेवार समुदायमा विभिन्न प्रकारका लाखे नाचहरु नाचिन्छन् । त्यसको पहिचान र नुवाकोट महोत्सवको प्रबर्द्धनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिताले जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन आगमनको लागि समेत टेवा पुग्नेछ ।”

एक दिने सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेले २५ हजार, द्वितीयले १५ हजार र तृतीयले ११ हजार नगद पुरस्कार प्राप्त गर्ने उनले जानकारी दिए ।

लोप हुँदै गएको लाखे संस्कृति जोगाउन र नयाँ पुस्तालाई सभ्यताको जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले बताए । प्रतियोगितामा सामेल हुन ९८५१११६९५६ नम्बरमा सम्पर्क राख्न सकिने आयोजकले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्