‘एक नेपाली एक पर्यटक’ रणनीति बनाउन चेम्बरको सुझाव



काठमाडौं,माघ २६ । नेपाल चेम्बर अफ कमर्सले ‘एक नेपाली एक पर्यटक’ भित्र्याउने योजना ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग आग्रह गरेको छ । मन्त्री किरातीसँग सिंहदरबारमा बुधवार भएको भेटमा चेम्बरले ‘एक नेपाली एक पर्यटक’ रणनीतिक योजना बनाएर लाखौं पर्यटक भित्र्याउन सकिने सुझाव दिएको हो ।

मन्त्री किरातीलाई चेम्बरले विभिन्न १८ बुँदे सुझाव समेत दिएको छ । सुझावपत्र पेश गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले विदेशमा रहेका नेपाली दूतावास र गैरआवासीय नेपालीलाई परिचालन गरेर लाखौं पर्यटक भित्र्याउन सकिने बताए । यसका लागि ठोस रणनीतिक योजना आवश्यक रहेको उनले औंल्याए । मुलुकको अर्थतन्त्र संकुचन भएको अवस्थामा पर्यटकीय गतिविधि बढाएर अर्थतन्त्र चलायमान बनाउनुपर्नेमा उनले जोड दिए । नेपालका महत्त्वपूर्ण पर्यटकीय स्थललाई अन्तरराष्ट्रिय ठूला सञ्चार माध्यमबाट प्रवर्द्धन गर्नुपर्ने अध्यक्ष मल्लले बताए । विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत ८ हजार मिटरभन्दा माथिका आठ हिमाल, पशुुपति, लुम्बिनी लगायत क्षेत्रको अन्तरराष्ट्रिय स्तरमै प्रचारप्रसार आवश्यक रहेको उनले बताए ।

नेपालको हवाई क्षेत्रलाई यूरोपेली संघ (ईयू)को सुरक्षा सूचीबाट हटाउन कूटनीतिक पहल थाल्नुपर्ने समेत अध्यक्ष मल्लले सुझाए । यसैगरी नेपाल वायुसेवा निगम र अन्तरराष्ट्रिय विमानस्थलको संरचनागत सुधार गरेर नेपाल एयरलाइन्सको जहाज थप गर्ने प्रक्रिया अविलम्ब शुरू गर्नुपर्नेमा उनले जोड दिए ।

विशाल जनसंख्या भएका चीन र भारतलाई लक्षित गरेर विशेष पर्यटन प्याकेज ल्याउनुपर्ने समेत अध्यक्ष मल्लले बताए । ‘भारतीय पर्यटक नेपाल आउँदा भारू अधिकतम २५ हजार मात्र साथमा ल्याउन पाउने सीमाले पर्यटन व्यवसायले अपेक्षित लाभ पाउन सकेको छैन,’ उनले भने, ‘यसलाई बढाएर भारू २ लाख ५० हजारसम्म लिएर आउने वातावरण तयार पार्नुपर्छ ।’ चेम्बरका पदाधिकारीसँगको भेटमा मन्त्री किरातीले पर्यटन गतिविधि बढाउन विदेशी पर्यटकलाई केही समयका लागि भिसा सहज बनाउने योजना ल्याउन लागिएको जानकारी दिए । ‘अन्य देशको तुलनामा नेपाल आउने पर्यटकका लागि भिसा शुल्कदेखि हवाई भाडासम्म महँगो पर्ने गरेकाले नेपाल आकर्षक गन्तव्य बन्न सकेको छैन,’ उनले भने, ‘यसका लागि सहजीकरण शुरू गरेको छु ।’ पर्यटन क्षेत्रको विकासका लागि थुप्रै सुधार आवश्यक रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्