प्रेम दिवसको पूर्वसन्ध्यामा ताजा गुलाफ आयातमा रोक
काठमाडौं,माघ २७ । सरकारले प्रेम दिवसको पूर्वसन्ध्यामा ताजा गुलाफको फूल आयातमा रोक लगाएको छ । वनस्पतिजन्य रोगको जोखिमको कारण देखाउँदै गुलाफ आयातमा रोक लगाइएको जानकारी दिइएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले बिहीवार सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि भारतलगायतका मुलुकबाट आयात हुने गुलाफ फूलको आयातमा रोक लगाएको हो ।
त्यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि सूचना जारी गर्दै गुलाफ फूल आयात अनुमति रोक्का गर्ने निर्णय गरेको थियो । मन्त्रालय, विषादी व्यवस्थापन केन्द्र र वनस्पति विज्ञसहितको बैठकबाट जोखिम रोकथामका लागि यस्तो निर्णय गरिएको जनाइएको छ ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रकी प्रमुख सावित्री बरालले वनस्पतीजन्य रोगको जोखिमलाई रोक्नका लागि अर्को सूचना जारी नभएसम्मका लागि आयात बन्द गर्ने निर्णय गरिएको जानकारी दिइन् । उनका अनुसार विज्ञसहितको टोलीको सल्लाहअनुसार यस्तो निर्णय लिइएको हो । यद्यपि प्राविधिक बैठकपश्चात् थप निर्णय हुन सक्ने उनले बताइन् । भारत र चीनसँग सीमा जोडिएका १५ ओटा भन्सार कार्यालयहरूलाई पत्राचार गर्दै गुलाफ फूल आयातको अनुमति नदिन भनिएको छ । यससँगै अब कुनै पनि नाकाबाट गुलाफ आयात हुनेछैन ।
प्रेम दिवस सप्ताहकै बीचमा गुलाफ आयात रोकिनुले उपभोक्ता वर्गमा असर पर्नसक्ने पुष्प व्यवसायीहरू बताउँछन् । पुष्प व्यवसायी सुशील खड्काका अनुसार यस्तो बेलामा बजारमा गुलाफको मूल्य महङ्गिनेदेखि अभावसमेत हुन सक्ने जोखिम बढेको छ ।

