‘कम खर्चमा निर्वाचन हुने व्यवस्था गरौं’
काठमाडौं,माघ २७ । राजनीतिक दलका नेताहरूले निर्वाचन प्रणाली निकै खर्चिलो भएको भन्दै कम खर्चमा सम्पन्न हुनेगरी व्यवस्था गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन् । बिहीवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीसहित दलका शीर्ष नेता तथा दलका प्रतिनिधिसँग निर्वाचन आयोगले गरेको छलफल कार्यक्रममा यस्तो सुझाव दिइएको हो ।
छलफलमा सहभागी अधिकांश नेताले आम नागरिकले निर्वाचनमा उम्मेदवार बन्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले निर्वाचन धनाढ्यहरूले मात्रै लड्न सक्ने अवस्था रहेको भन्दै त्यसको अन्त्य गर्नेगरी निर्वाचन ऐनमा सुधार ल्याउनुपर्ने सुझाव दिए । मुचुल्का अनुरूप मतदान भएको बाकसमा मत फरक परेको अवस्थामा के गर्ने भन्ने ऐनमा स्पष्ट व्यवस्था नभएकाले त्यसको पनि स्पष्ट व्यवस्था हुनुपर्ने उनले बताए । त्यसैगरी स्वच्छ छवि भएका व्यक्तिलाई मात्र उम्मेदवार बनाउनेगरी प्रष्ट र पारदर्शी मापदण्ड बनाउनुपर्ने सुझाव उनले दिए ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री झनक प्याकुरेलले निर्वाचन प्रणाली खर्चिलो र भड्किलो भएको भन्दै त्यसलाई सुधार गर्नुपर्नेमा जोड दिए । संघीय व्यवस्था देशले धान्न नसक्ने भएकाले त्यसको विकल्पमा जनउत्तरदायी शासन प्रणाली ल्याउनुपर्ने सुझाव उनले दिए ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनाउनुपर्ने धारणा राखे । त्यस्तै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनेगरी शासकीय स्वरूप बनाउनुपर्नेमा पनि उनले जोड दिए । विदेशमा रहेका नेपालीलाई मतदानको प्रक्रियामा ल्याउनुपर्ने विषय पनि उनले उठाए ।
जनता समाजवादी पार्टीका नेता प्रकाश अधिकारीले पनि निर्वाचन प्रणाली खर्चिलो भएकाले जनताले राम्रो प्रतिनिधि छान्ने अवसर नपाएको बताए । त्यसको सुधार गर्दै पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने धारणा उनले राखे ।
नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवालले फौजदारी अभियोग लागेका व्यक्तिलाई उम्मेदवार बनाउने पार्टीहरूलाई नै कारबाही गर्ने व्यवस्था ल्याउनुपर्ने बताए । अभियुक्त भएका विजयी उम्मेदवारलाई पारिश्रमिक तथा अन्य सेवासुविधा दिन नहुने उनले बताए । नेता सुवालले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषय प्राविधिक रूपमा असम्भव भएकाले सो प्रक्रियाको थालनी हुनुपर्ने बताए ।

