देशको विकास निर्माण अन्योलमा छ : प्रवक्ता डा. महत
काठमाडाैं,माघ २८ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशको विकास निर्माण कार्य अन्योलमा परेको बताएका छन् ।
सातौँ नुवाकोट महोत्सवको दोस्रो दिन सम्बोधन गर्दै नेता महतले आशा र भरोसाको साथ जनताले कांग्रेसलाई पहिलो पार्टीको रुपमा स्थापित गरे पनि राजनीतिक चलखेल बढेका कारण सरकार बाहिर बस्न बाध्य भएको बताए । उक्त अन्योलताबाट मुक्ति दिलाउन कांग्रेस हरबखत प्रयत्न गरिरहेको समेत उनको भनाइ थियोे ।
‘देशको विकास निर्माण, सुशासनदेखि उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण अन्योलपूर्ण बनेको छ’ नेता महतले भने-‘देश विकासको लागि लोकतान्त्रिक मूल्य–मान्यता, कानुनी शासनको सुनिश्चितता हुन आवश्यक छ । त्यसको नेतृत्व कांग्रेसले गर्नेछ।’
पर्यटकीय, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिकोणले नुवाकोट भरिपूर्ण रहेकोले त्यसको प्रवद्र्धनको लागि आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए ।समयसमयमा आयोजना हुने मेला महोत्सवले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुको साथै बजारको व्यवस्थापन गराउन विशेष भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।



