‘बहत्तर सालको भूकम्प’ लोकार्पण



काठमाडौं,माघ २९ । तारानिधि भट्टराई, निमानन्द रिजाल र किशोर थापाद्वारा लिखित ‘बहत्तर सालको भूकम्प’ पुस्तकको लोकार्पण गरिएको छ । २०७२ सालको भूकम्पको सेरोफेरोमा रहेर लेखिएको उक्त पुस्तक शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा प्राध्यापक मोहनमूर्ति पन्त र तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले लोकार्पण गरेका हुन् ।

नेपालय पब्लिकेशनले बजारमा ल्याएको उक्त पुस्तकमा गोरखा भूकम्पपछिको सम्पूर्ण अवस्था समेटिएको लेखकले बताएका छन् । पुस्तकका लेखकत्रयले भूकम्पपछि गठित प्रधानमन्त्री संयोजकत्वको उच्चस्तरीय निर्देशक समितिमा विज्ञ टोलीको सदस्यका रूपमा पनि कार्य गरेका थिए । लोकार्पण कार्यक्रममा स्वागत मन्तव्य राख्दै लेखक भट्टराईले ३ वर्ष लगाएर पुस्तक तयार पारिएको बताए । पुस्तक लेखनका लागि आफूहरूले सरकारका विभिन्न निकायसँग अन्तरक्रिया गर्नुका साथै क्षतिग्रस्त ठाउँको भ्रमण अवलोकन गरेर वास्तविकता पत्ता लगाएको उल्लेख गरे ।

पुस्तकको समीक्षा गर्दै प्रा. पन्तले लेखकत्रयले गहन अध्ययन, अनुसन्धान गरेको देखिएको भन्दै २०७२ सालको भूकम्पले भौतिक संरचना क्षति मात्र नभई मानिसको मनमस्तिष्कमा असर परेको बताए । ‘पुस्तकमा भूकम्पपछिका स्थितिको गहन चित्रण गरिएको छ,’ उनले भने, ‘१९९० सालको भूकम्प र २०७२ सालको भूकम्पको तुलनात्मक विश्लेषण गरिएकाले झनै उपयोगी देखिएको छ ।’ तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुस्तक धरातलीय यथार्थमा आधारित भई लेखिएको बताए । त्यतिबेलाको चुनौतीलाई अवसरमा परिणत गरी भूकम्पप्रतिरोधी भौतिक संरचना निर्माण गरिएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्