चेपाङ महिलालाई आत्मनिर्भर बनाउँदै ‘जुजु प्रमिला’, यसरी फेरिँदै छ जीवनस्तर



धादिङ,माघ २९ । महिलाहरूलाई आत्मनिर्भर बनाउन स्थापना गरिएको जुजुप्रमिला महिला कोषबाट धादिङका चेपाङ महिलाहरूलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।

धादिङ्गको बेनीघाट रोराङ गाउँपालिका १० हेक्राङ्ग गाउँका चेपाङ महिलाहरूलाई आत्मनिर्भर बनाउन जुजुकाजी महर्जन तथा प्रमिला राजकर्णिकारले स्थापना गरेको ‘जुजुप्रमिला महिला कोष’ अन्तर्गत १ लाख रुपैयाँको कोषबाट धादिङका चेपाङ महिलाहरूको समूह भगेनी महिला समूहलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ ।

कोषका तर्फबाट जुजुकाजी महर्जनले ५० हजार रुपैयाँ भगेनी महिला समूहकी अध्यक्ष गधौरी चेपाङलाई हस्तान्तरण गरेका छन् । प्राप्त रकमले कुखुराको चल्ला खरीद गरी कुखुरा पालन गर्ने लक्ष्य रहेको गधौरी चेपाङले बताइन् । समूहबाट पालिएका कुखुराको हेरचाह गाउँ भरिका महिलाहरुले पालै पालो गर्ने छन् ।

हर्टविट समूहले विगत दस वर्षदेखि धादिङ, चितवन लगायतका जिल्लामा रहेका चेपाङ परिवारहरूलाई लत्ताकपडा, बच्चाहरुलाई खाना, स्टेशनरी सामानहरू प्रदान गर्दै आएको छ । 

हर्टविट समूहका जुजुकाजी महर्जनले पहिले पहिले हरेक महीना लत्ताकपडा, खाना लगायतका वस्तु सहयोग गर्दै गरेको भएपनि अब भने उनीहरूलाई उत्पादनसँग जोड्ने गरी सहयोग गरिरहेको बताए । उत्पादनसँग जोडेर महिलाहरूलाई आत्मनिर्भर बनाउँदा परिवार नै सबल र सक्षम हुने भएकाले अहिले फरक ढंगले सहयोग गरिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्