स्वीकृत दरबन्दी अनुसार कर्मचारी खटाउन सामान्यको परिपत्र



काठमाडौं,माघ २९ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामति कर्मचारी प्रशासनभित्र सुधारको कदम चालेको छ ।

वरिष्ठतम् कर्मचारीलाई जिम्मेवारीविहीन बनाउने तर आफ्नो अनुकूलका कर्मचारीलाई शक्तिका भरमा खटाउने परम्पराले कर्मचारी प्रशासनभित्र विकृति देखिएको ठहर गर्दै मन्त्रालयले स्वीकृत दरबन्दीअनुसार मात्रै कर्मचारी खटाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

स्वीकृत दरबन्दी भएका सहसचिवलाई काम नदिने तर तल्लो तहका उपसचिवलाई शक्तिको आडमा काममा लगाउने गरेको पाइएको भन्दै मन्त्रालयले सात दिनभित्र दरबन्दी अनुसारकै कर्मचारी खटाउन सबै मन्त्रालय, आयोग र सचिवालयलाई पत्राचार गरेको हो । ‘कतिपय निकायमा स्वीकृत दरबन्दीको पदमा मातहतको कर्मचारी खटाइएको पाइएको हुँदा सात दिनभित्र स्वीकृत दरबन्दी अनुसारकै कर्मचारी खटाई यस मन्त्रालयलाई जानकारी गराउने, यदि स्वीकृत दरबन्दी मातहतको कर्मचारीबाट कार्यसम्पादन हुन सक्ने र माथिल्लो तहको कर्मचारी आवश्यक नपर्ने हो भने दरबन्दी पुनःसंरचनाको प्रक्रिया अघि बढाई सोको जानकारी गराउने,’ मन्त्रालयद्वारा जारी परिपत्रमा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस्