बागमती प्रदेशभर १२ लाख ६९ हजार भेडाबाख्रालाई पीपीआर खोप लगाइने



काठमाडौं,माघ २९ । बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छि मन्त्रालयले प्रदेश भित्रका १२ लाख ६९ हजार भेडाबाख्रालाई पीपीआर खोप लगाउने भएको छ ।

पीपीआर भेडा बाख्रामा विषाणुबाट लाग्ने घातक संक्रामक रोग हो । पीपीआर संक्रमणको कारण वर्षेनि हजारौ भेडाबाख्रा मर्ने गरेको कारण किसानले ठुलो क्षति बेहोर्नु पर्ने समस्यालाई मध्यनजर गर्दै प्रदेश सरकारले प्रदेशमा रहेका भेडाबाख्रालाई पीपीआर खोप लगाउने कार्यक्रम सुरु गरेको मन्त्रालयले जानकारी दिएको छ ।

पीपीआर नियन्त्रणका लागि फागुन १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गरिने भएको छ ।प्रदेशभर कुल २६ लाख १३ हजार २३२ भेडाबाख्रा रहेकामा ४९ प्रतिशत भेडाबाख्रालाई मात्र पीपीआर खोप लगाउन लागिएको हो ।

संघिय सशर्त मार्फत प्राप्त भएको खोपबाट प्रदेशभरका जम्मा ४९ प्रतिशत भेडाबाख्रामा खोप पुग्ने भएपनि यहि पेशामा रहेका किसानहरुलाई ठुलो आर्थिक क्षति हुनबाट रोकिने मन्त्रालयका प्रवक्ता झलकनाथ कंडेल बताउछन् । “नयाँ ठाउँमा यो रोग फैलदा ८० प्रतिशत संक्रमित जनावरको मृत्यु हुन्छ । देशभर सबै जिल्लामा फैलिसकेको कारण प्रदेशभरका किसानको ठुलो क्षति हुनबाट रोकिने छ ।”कंडेलले भने ।

विषाणुबाट फैलने रोग भएको कारण पीपीआरको सघन उपचार नभएको हुँदा सामुहिक खोप अभियान सञ्चालन गरिएको मन्त्रालय बताउछ । विश्व पशु स्वास्थ्य सँगठन र संयुक्त राष्ट्र खाद्य तथा कृषि सँगठनले सन् २०३० सम्म पिपिआर उन्मुलन गर्ने रणनीति अधि सारिसकेको परिप्रेक्षमा पशु स्वास्थ्य कार्यक्रम कार्यान्वयन कार्यविध, २०७५ को परिच्छेद ३ पिपिआर रोग नियन्त्रण कार्यक्रम कार्यान्वयनको माध्यमबाट यस रोगलाई प्रभावकारी तवरले नियन्त्रण गर्नको लागि स्पष्ट कार्य योजना बनाई पिपिआर खोप अभियान सञ्चालन गर्न लागिएको मन्त्रालय बताउछ ।

गत वर्ष मन्त्रालयले यहि अभियान अन्तर्गत ८ लाख ३० हजार १८७ भेडाबाख्रालाई पिपिआर खोप लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्