महाराजगञ्ज छाडेर चक्रपथ विस्तार हुने
काठमाडौं,फागुन १ । चक्रपथको कलंकीदेखि चाबहिलको धोबीखोला खण्डमा पर्ने सम्पूर्ण साइट क्लियर नभए पनि सडक विस्तारको काम शुरू हुने भएको छ । २७ किलोमीटरको चक्रपथमध्ये यस खण्डमा पर्ने ११ दशमलव ६ किलोमीटर विस्तार हुन लागेको हो । महाराजगञ्ज क्षेत्रलाई तत्काल यथास्थितिमा राखेर चक्रपथ विस्तारको काम शुरू गर्ने तयारी सडक विभागले गरेको छ । चीन सरकारको सहयोगमा आठ लेनमा विस्तार गरिने यो खण्डको महाराजगञ्ज क्षेत्रमा घर भत्काउन र जग्गा अधिग्रहण गर्न बाँकी छ । अन्य क्षेत्रमा साइट क्लियर लगभग सम्पन्न गरेको विभागले यस क्षेत्रलाई अहिलेकै अवस्थामा राखेर सडक विस्तार अघि बढाउने तयारी गरेको हो । विभागका महानिर्देशक अर्जुनजंग थापाले सडक विस्तार सम्झौताको म्याद सकिनुअघि साइट क्लियर भएमा चिनियाँ पक्षले नै बनाइदिने, नभए नेपाल सरकार आफैले बनाउने गरी छलफल भएको जानकारी दिए ।
‘कलंकी क्षेत्रमा चारओटा घर भत्काउँदा हामीले मुआब्जा दिएका थियौं,’ थापाले भने, ‘महाराजगञ्ज क्षेत्रमा परेका घरजग्गाको हकमा परिस्थिति फरक छ ।’ सरकारी अभिलेखमा सडकको दायाँबायाँ गरेर ३१ मीटर जग्गा अधिग्रहण गर्ने स्वीकृति दिइएको छ ।
उनका अनुसार महाराजगञ्जमा २०३१ सालमा जग्गा अधिग्रहण भएको थियो । चिनियाँ पक्षले गोंगबु तथा आसपासका मन्दिरहरू सारिसकेपछि मात्रै काम गर्ने भएको छ । अन्य मन्दिरहरू सारिसकेको र गोंगबुस्थित शिव मन्दिर सार्न बाँकी रहेको थापाले बताए । उक्त मन्दिर सारेपछि चिनियाँ पक्षलाई बोलाएर सो खण्ड चौडा बनाउने काम शुरू गरिने उनको भनाइ छ । उक्त मन्दिर सारेपछि चिनियाँ दूतावासलाई जानकारी गराएर छिट्टै सडक चौडा बनाउनका लागि यो खण्ड हस्तान्तरण गरिनेछ ।
चीनको सहयोगमा बन्ने यो खण्ड विस्तारका लागि सम्झौता भएको साढे ४ वर्षसम्म पनि साइट क्लियर नहुँदा काम शुरू हुन नपाएको हो । अहिले यो खण्डको सडक दायाँबायाँका रूख, बिजुलीका पोलहरू विभागले हटाइसकेको छ । मन्दिर स्थानान्तरण र महाराजगञ्जको काम बाँकी छ । विभागले महाराजगञ्जमा कलंकीमा रहेको अन्डरपास जस्तै संरचना बनाउनेछ ।
चीनले पहिलो चरणमा कोटेश्वर–कलंकी खण्डलाई आठ लेनमा विस्तार गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ । दोस्रो चरणमा कलंकीदेखि चाबहिल, धोबीखोलासम्मको सडक विस्तारका लागि विभागले चिनियाँ पक्षसँग २०७४ मा समझदारी (एमओयू) गरेको थियो । साइट क्लियरमा ढिलाइ र यसबीचमा कोभिड–१९ महामारीका कारण यो खण्ड चौडाइमा ढिलाइ भएको विभागले उल्लेख गरेको छ ।
सम्झौताको ३ वर्षमा सडक चौडा पारिसक्ने लक्ष्य राखिए पनि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र साइट क्लियर नहुँदा यी प्रक्रिया पूरा गर्नमै समय लागेको देखिएको छ । मुख्य सडकलाई आठ लेनमा विस्तार गर्ने जिम्मा चिनियाँ पक्षले लिए पनि बाँकी ढलको काम र सहायक मार्ग नेपाल सरकारले नै निर्माण गर्ने थापाले बताए । काठमाडौं चक्रपथ सडक विस्तार आयोजनाले सडकको दायाँबायाँ ट्र्याक रोड (मुख्य सडकबाहिरको सडक) र फूटपाथलगायत संरचना बनाउन १ अर्ब १५ करोड रुपैयाँ लगानी आवश्यक पर्ने प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेश गरेको थियो ।

