भारतीय कष्टम विभागले मीरगञ्ज पुलबाट मालवाहक आवतजावतको लागि दियो अनुमति
काठमाडौं,फागुन २ । एक बर्षपछि भारतको जोगवनी नाकाबाट चार किलोमिटर नजिक रहेको मीरगञ्ज पुल शुक्रबार देखि संचालनमा आएको छ । तेश्रो मुलुकबाट आउने सामान ११६ किलोमिटर घुम्नु नपर्ने विराटनगर–चारलेन सडक सहित मीरगञ्जको परमान नदीमाथि पक्की मोटरेबल पुल सञ्चालनमा ल्याएको हो ।
मोरंग ब्यापार संघको पहलमा दुवै देशका नेता तथा अधिकारीलाई पुल संचालन गर्न दिइएको दवावको कारण दुई महिना अघिबाट नै पुल अनौपचारिक रुपमा संचालनमा आएको थियो । यो अनुमतिले भारत लगायत तेश्रो मुलुकबाट आउने कच्चा पदार्थ लगायतको सामाग्री बोकेका मालवाहक ११६ किलोमिटर सुनसरीको भण्टावारी नाकाबाट घुमेर आउनु पर्ने झन्झटबाट मुक्त भएका छन् । अब ४ किलोमिटर दुरी पार गर्नासाथ नेपालको आइसीपी आइपुगने भएको छ ।
भारतको पटना स्थित कष्टम विभागले सुचना जारी गरी नयाँ मीरगञ्ज पुल संचालनमा आएको र त्यसबाट मालवाहक आवत जावत गर्ने अनुमति दिइएको छ ।यस अघि भारतका जोगवनी स्थित ल्याण्ड कष्टम र आइसीपी बिच समन्वय हुन नसक्दा आंशिक रुपमा मात्रै मालसामानको कार्गो आयात निर्यात भइरहेको थियो।
सबै निकायलाई बोधार्थ दिँदै सुचनालाई तत्काल कार्यान्वयन गराउन निर्देशन दिएको छ । सूचनासंगै विराटनगरको आइसीपीबाटै आयात र निर्यात औपचारिक सुरु भएको छ ।मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजालको अगुवाईमा पटक पटक नेपाल र भारतीय अधिकारीलाई पुल संचालनका लागि अनुरोध गरिएपछि अनौपचारिक रुपमा दुई महिना देखी पुल संचालनमा आएको बताए । पुल संचालनमा आएपनि भारत र नेपालका लागि मात्र कार्गो आउने जाने गरेको र तेश्रो मुलुकबाट आउने सामानको हकमा सुनसरीको भण्टावारी नाकानै प्रयोग हुँदै आएको थियो । तर, अहिले भारतको कमिस्नर अफ कष्टम पटनाका अधिकारी प्रदीप कुमारले सूचना जारी गर्दै मीरगञ्ज पुल हुँदै आवत जावत खुलेको बताएको छ ।
उनले यस अघिको २०२२ जनवरी ११ को सूचनाले जारी गरी मीरगञ्ज पुल भासिएकाले सम्पूर्ण कार्गोको आवत जावत यो नाकाबाट बन्द गरी भीमनगर नाकाबाट सुचारु गरेको सुचना जारी भएको थियो । अहिले उक्त सुचनाले रोकेको आवत जावतको प्रतिबन्ध फुकुवा गर्दै भीमनगर तर्फको रिरुट खारेज गरि पुल निर्माण सम्पन्न भएकाले पहिलेकै अवस्थामा जोगवनी भन्सार र आइसीपीबाट माल आवत जावतका लागि सबैलाई जानकारी दिइएको छ ।
पुल पूर्ण रुपमा संचालनमा आएपछि अहिले दैनिक दुई सय सम्म मालवाहक सवारी साधान भारतीय कष्टम हुँदै विराटनगर आइसीपीमा आइरहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।
एउटा मालवाहक सवारी भीमनगर हुदैं ११६ किलोमिटर घुमेर आउँदा १६ हजार रुपैयाँ अतिरिक्त भाडा तिर्नु परिरहेको थियो । मीरगञ्ज पुल भासिँदा एक बर्षमा २२ अर्ब ५० करोडले विराटनगर भन्सारबाट हुने कारोबारमा गिरावट आएको थियो । जोगवनी नाकाबाट मालवाहक जान नसकेपछि सुनसरीको भण्टावारी नाकाबाट रिरुट भएर आउँदा एउटा कण्टेनरको १६ हजार अतिरिक्त ढुवानी भाडा व्यवसायीले बुझाउँदै आएका थिए । जसको कारण एक बर्षमा व्यवसायीहरुले ११ करोड ५२ लाखको बराबरको अतिरिक्त ढुवानी भाडा तिरेका छन् ।
मोरंग व्यापार संघमा निर्वाचित भएपछि आफूले मीरगञ्ज पुल संचालन गराएर नै छाड्ने प्रतिबद्धता लिएका अध्यक्ष नवीन रिजालले आफ्नो कार्य समितिको सम्पूर्ण टिमनै पुल संचालन गर्नका लागि परिचालन गरेका थिए । भारतीय पक्षबाट समेत आधिकारिक रुपमा पुलसंगै नाका पनि संचालनमा आएको जानकारी दिएपछि हर्षित देखिएका रिजालले ‘यो सबैको अथक प्रयासको परिणाम भएको’ बताएका छन् ।
प्रदेश १ को औद्योगिक लाईफलाईनै ध्वस्त भएको बेला आफ्नो कार्यसमितिले निरन्तर रुपमा यो मुद्धालाई उठाएर समस्या समाधानका लागि पहल गरेको र पहलकै कारण एक बर्षमै पुल र नाका पूर्ण संचालनमा आएकोमा आफूले एउटा मिसन पुरा गरेकोमा गर्व लागेको रिजालले बताए ।

