शिक्षक नहुँदा पढाइ प्रभावित



ताप्लेजुङ, फागुन ३ । सिदिङ्वा गाउँपालिकाको एक विद्यालयमा विषय शिक्षक व्यवस्था नहुँदा पढाइ प्रभावित हुँदै आएको छ। सिदिङ्वा गाउँपालिका–४, साब्लाखुस्थित सरस्वती माध्यमिक विद्यालयमा गणित विषयको शिक्षक नहुँदा विगत दुई वर्षयता पढाइ प्रभावित हुँदै आएको हो। 

प्रस्तावित माध्यमिक विद्यालयका रूपमा सञ्चालित उक्त विद्यालयमा करिब दुई वर्षदेखि गणित विषयका शिक्षक नहुँदा पठनपाठन प्रभावित हुँदै आएको हो। विषय शिक्षक नभएकै कारण कक्षा ६–८ को अनिवार्य गणित र कक्षा ९ र १० को अनिवार्य तथा ऐच्छिक गणित विषयको पढाइ प्रभावित हुँदै आएको विद्यालयकी प्रधानाध्यापक सलिना तामाङले बताइन । 

प्रधानाध्यापक तामाङका अनुसार तत्कालीन विषय शिक्षक शान्तिराम मिश्रलाई विद्यालय व्यवस्थापन समितिले बर्खास्त गरेपछि रिक्त रहेको ठाउँमा शिक्षक पदपूर्ति भएको छैन। निम्न माध्यमिक तहका राहत करार दरबन्दीका शिक्षक मिश्रलाई विद्यालयमा अनुपस्थित रहेको साथै उपस्थित भएर पनि अध्यापन नगरेको आरोपमा गत २०७८ चैत ५ गते समितिले बर्खास्त गरेको थियो। 

शिक्षक पदबाट बर्खास्त गर्नुभन्दा करिब एक वर्षअघिदेखि नै मिश्र विद्यालय नजाने र नपढाउने गरेकाले बर्खास्त गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर लिङ्देनले जानकारी दिनुभयो। अध्यक्ष लिम्बूका अनुसार तत्कालीन शिक्षक मिश्रलाई बर्खास्त गर्नुअघि एक वर्ष र बर्खास्त गरेपछि एक वर्ष गरी दुई वर्षयता पढाइ प्रभावित हुँदै आएको छ। 

प्रतिक्रिया दिनुहोस्