यस वर्षको महाशिवरात्रिमा पशुपतिमा पुरी मठका जगतगुरु शंकराचार्य आउने



काठमाडौं ,फागुन ४ । यस वर्षको महाशिवरात्रिमा पुरी मठका जगतगुरु शंकराचार्य सरस्वती श्रीनिश्चलानन्द स्वामी आउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले बुधवार पत्रकार सम्मेलन गरेर सो जानकारी गराएको हो । उनी बिहीवार पशुपतिनाथ मन्दिर आइपुग्नेछन् । 

यस वर्ष फागुन ५, ६ र ७ गते पशुपति शंकराचार्य पूजन महोत्सव कार्यक्रम राखिएकाले उनी सो कार्यक्रममा सहभागी हुन पशुपतिनाथ आउन लागेका हुन् । उनले बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म आशिर्वचन दिने कार्यक्रम छ । पशुपति परिसरमा महाशिवरात्रिको अवसरमा यस प्रकारको यो पहिलो विशेष कार्यक्रम हो । महाशिवरात्रि पर्व भने फागुन ६ गते परेको छ । 

त्यस्तै सो अवसरमा फागुन १ गतेदेखि नै लिंग पुराणको कथा वाचनसहित विकास सन्तहरूको विशेष कार्यक्रम भइरहेको छ । त्यस्तै पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन विभिन्न समितिहरू बनाएर तयारी तीव्र बनाएको छ । 

महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोष परिसर नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग समेतबाट सुरक्षाका जनशक्ति परिचालन गरी महाशिवरात्रि पर्वलाई व्यवस्थित गर्ने तयारी गरेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए । 

पर्वलाई व्यवस्थित बनाउन भकुण्डोलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको मुल शिविर रहनेछ । मुल शिविरसँगै खोजखबर कक्षको व्यवस्थापन गरिने उनले बताए । उनले मेला क्षेत्र र दर्शनमार्गलाई लक्षित गरी सीसीटीभी क्यामेराको जडान गर्ने, दर्शनमार्गमा ब्यारिकेड जडान लगायतको कार्यमा र मन्दिरभित्र भीड व्यवस्थापनको लागि नेपाली सेनाको विशेष सहयोग हुने बताए । 

मन्दिर परिसरमा स्वयंसेवकका लागि नेपाल स्काउट लगायतका ४ हजार स्वयंसेवकहरू रहने बताए । पशुपतिनाथ मन्दिर नजिकै कोर क्षेत्रमा डाक्टर, नर्स, औषधि र बेडसहितको नेपाली सेनाको मुल स्वास्थ्य शिविर रहनेछ भने सशस्त्र प्रहरी, नेपाल प्रहरी समेतका गरी करिव ५० ओटा स्वास्थ्य शिविर रहेनछन् । 

आपतकालीन अवस्थाका लागि एम्बुलेन्स र आगो नियन्त्रक साधन उपलब्ध हुनेछ । त्यस्तै जुत्ता, चप्पल व्यवस्थापन दर्शन लाइनलाई पायक बनाएर भुवनेश्वरीमा दक्षिणामूर्ति रुद्रगाडेश्वर दर्शनमार्ग १, भुवनेश्वरी नजिक शंकराचार्य मठ पछाडि १, बज्रघर दक्षिणतर्फ १, राममन्दिर नजिक वागमती पारी १ गरी पाँच ठाउँमा व्यवस्थापन गरिने कोषले जनाएको छ । 

त्यस्तै चन्दन वितरण दर्शन गरेर निस्किने कोर क्षेत्रभित्र, जयबागेश्वरी, ब्रजघरअगाडि दक्षिण ढोका र तिलगंगामा समेत रहनेछ । त्यस्तै कोषले प्लाष्टिक, काँच, सिसा जस्ता फुट्ने प्रकृतिको कप प्लेट र सामग्रीहरूको प्रयोगमा रोक लगाएको छ । दर्शन मार्गको रूपमा गुह्वेश्वरी—गौरीघाट, उमाकुण्ड—दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट—१ लाइन, मित्रपार्क—जयबागेश्वरी—इँटापाखा भएर भुवनेश्वरीस्थ्ति फलामको सानो ढोका हुँदै पश्चिम ढोकाबाट—१ लाइन, बत्तीसपुतली—गौशाला, एयरपोर्ट—तिलगंगा भएर पिंगलास्थान—सुमार्गी भवन अघिबाट चार शिवालय—पञ्चदेवल हुँदै दक्षिण ढोकाबाठ १ प्लस १ लाइन गरी बाहिरीरूपमा तीन स्थानबाट दर्शन लाइनहरू रहनेछन् । 

तिलगंगा राममन्दिरतर्फ समेत आवश्यक्ता अनुसार एक लाइन हुनेछ भने नित्य दर्शनार्थीका लागि बिहान ७ बजेभित्र भुवनेश्वरस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था हुनेछ । 

त्यस्तै पार्किङ तथा ट्राफिक व्यवस्थापनको लागि तिलगंगा कोरिडोरको उपलब्ध ठाउँ, पशुपति क्षेत्र विकास कोषको कार्यालय, प्रहरी वृत्त ट्राफिक प्रहरी विभाग गौशाला, सिफल चौरको उपलब्ध ठाउँ, गुह्येश्वरी पारि गरी पाँच स्थानमा व्यवस्थापन गरिएको छ । 

त्यस्तै एयरपोर्ट, गौशाला, चाबहिलको रिङरोडमा यात्रुहरूको चापलाई ध्यानमा राखी सडकको आधा भागमा सार्वजनिक सवारी गुड्न दिने र आवश्यकता अनुसार डाइभर्सनको समेत व्यवस्था मिलाइनेछ । सडक छेउमा फुटपाथका कुनैपनि पसल राख्न नदिने कोषले जनाएको छ । 

कोषले मन्दिर परिसरमा मांस, मदिरा तथा कुनैपनि प्रकारका नशालु पदार्थ निषेधित क्षेत्र भएकाले गाँजा, भाङ, जाँडरक्सी जस्ता पदार्थहरूको विक्रीवितरण, ओसारपसार, भण्डारण एवं सेवन नगर्न आग्रह गरेको छ । कोषले यस पटकको महाशिवरात्रिमा करिव २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान गरेको छ । 

प्रतिक्रिया दिनुहोस्