नुवाकोटमा बस दुर्घटना : तीनको मृत्यु, २३ घाइते



नुवाकोट, फागुन ४ । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १२ मा बस दुर्घटना भएको छ ।

बिहीबार भएको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुर्घटनामा २३ जना घाइते भएका छन्। विदुर–४ बट्टारबाट नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंहतर्फ जाँदै गरेको बा २ ख ८४४५ नम्बरको बस विदुर–१२ चैनपुरस्थित पिपलबोट भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला स्थित प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए।

पण्डितका अनुसार दुई जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा त्रिशूली अस्पतालमा मृत्यु भएको हो। मृत्यु हुनेमा तारकेश्वर गाउँपालिका–६ भमराका अन्दाजी ६२ वर्षीय रामप्रसाद अर्याल, उनकी श्रीमती ६० वर्षीया सीतादेवी अर्याल र विदुर–३ का ५८ वर्षीय बाबुराम दर्जी रहेका छन्। दुर्घटनामा घाइते भएका २३ जनामध्ये पाँच जनाको नुवाकोटमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्