बागमती नदीमा धाप बाँधको पानी छाडियो



काठमाडौं,फागुन ५ । उपप्रधान, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको बीचमा बनेको धाप बाँधबाट छोडेको पानीले सभ्यताको स्रोत बागमती नदीलाई सफा बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

गोकर्णेश्वर नगरपालिका–१ स्थित निकुञ्जभित्र बिहीवार धाप बाँधबाट पानी छाड्न आयोजित कार्यक्रममा उनले यो बाँधले बागमतीलाई पुरानै स्वरुपमा फर्काउन सहयोग गर्ने बताए । धाप बाँधभन्दा मुनि नागमती बाँध बनाउन हालैको मन्त्रिपरिषद् बैठकले जग्गा व्यवस्थापनको निर्णय गरेको पनि उपप्रधानमन्त्री लिङ्देनले जानकारी दिनुभयो । बिहीवारदेखि प्रतिसेकेन्ड चार सय लिटर पानी बागमतीमा पठाइएको छ । महाशिवरात्रिको अवसर पारेर बागमतीमा स्वच्छ पानी बगाउन धाप बाँधबाट पानी छाडिएको हो । बिहीवारै बाँधस्थलमा शिलालेख पनि अनावरण गरिएको छ ।

नागमती बाँध बनेपछि भने बागमती नदीमा सोचेअनुरुपको सुधार हुने विश्वास गरिएको छ । नेपाल विश्वमै जाति, भाषा, धर्म, संस्कृतिमा विविधताबीचको एकता भएको देशका रूपमा परिचित रहेको उल्लेख गर्दै उनले जैविक विविधता उत्तिकै रहेको जानकारी गराए । ‘धाप बाँधस्थल जैविक विविधताका कारण पनि पर्यटकीय महत्त्व बोकेको स्थलका रूपमा परिचित छ । तर यो ठाउँमा ओहोरदोहोर गर्ने स्थानीयवासीले पनि निकुञ्जलाई शुल्क तिर्नुपर्ने नियम गलत छ । यस विषयमा आजैको मन्त्रिपरिषद्मा कुरा उठाउँछु, यस्तो विषय अरुले सुन्दा पनि यो लाजमर्दो हुन्छ, यहाँको उकालो र घुम्ती सडकमा कालोपत्र गर्न दिएर वन्यजन्तुलाई क्षति पुग्दैन, कानूनको त्यान्द्रो समातेर जनतालाई दु:ख दिने काम बन्द गरिनुपर्छ,’ उपप्रधानमन्त्री लिङ्देनले भने । साढे चार दशकअघि बनेको सडकलाई कालोपत्र हुन नदिँदा यहाँका बोटबिरुवाको सौन्दर्यमा असर गरेको उनले सुनाए ।

सहरी विकासमन्त्री विक्रम पाण्डेले निकुञ्ज भएकै कारण आफ्नै गाउँमा जाँदा पनि शुल्क तिर्नुपर्ने अवस्था चितवनको माडीमा पनि रहेको उल्लेख गर्दै आफू वनमन्त्री हुँदा त्यो समस्या समाधान गरेकाले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पनि यो समस्या समाधान गर्न लागिपर्ने बताए । ‘सडक खुलेको ४६ वर्षसम्म पनि कालोपत्र नहुनु अन्याय हो, यस विषयमा सरोकार भएका निकायबीच बैठक गरी समस्या समाधान गर्न प्रयास गर्छौं, निकुञ्जबीचको सडक कालोपत्र नहुँदा जङ्गली जनावर र पक्षीले धुलो खान बाध्य हुनु कति न्यायोचित छ,’ उनले भने । धाप बाँधको वरिपरि वायो इन्जिनियरिङ नगरे समयअघि नै यसको दुर्गति हुने भएकाले पनि यसतर्फ बेलैमा ध्यान दिनुपर्ने मन्त्री पाण्डेको भनाइ थियो । नागमती बाँधलाई एशियाली विकास बैंकले पनि विश्वकै आठौं नम्बरको परामर्शदाता खटाएर सहयोग गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्