ग्यास सिलिण्डर विस्फोटबाट घाइते कांग्रेस सांसद भण्डारीलाई भारत लगियो
काठमाडौं,फागुन ५ । एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ ।
उनलाई श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा थप उपचारका लागि लगिएको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए । उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि चिकित्सकको टोलीसहित त्यसतर्फ लगिएको हो ।
हिजो राति घाइते भएका नेता डा. भण्डारीको यसअघि कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । अस्पतालले आज विज्ञप्ति जारी गरी उपलब्ध साधन र स्रोतबाट उनको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देश बाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण (सिफारिस) गरेको हो ।
बुधवार राति निवासमा ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद डा. भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएकी थिइन् । उनकी आमाको भने उपचारका क्रममा बिहान निधन भएको छ । नेता डा. भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलेको अस्पतालले जनाएको छ ।

