राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन : निर्वाचन अधिकृतको कार्यालय सञ्चालन
काठमाडौं,फागुन ९ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा सोमवारदेखि निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुनेगरी निर्वाचन आयोगले गत माघ १६ गते मिति तय गरेको थियो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कार्यालयको उद्घाटन गर्दै उक्त निर्वाचनका लागि आयोगका तर्फबाट मतदाता नामावलीको अन्तिम सूची सोमवार कार्यालयलाई उपलब्ध गराइएको बताए । कार्यालयले स्वीकृत निर्वाचन कार्यक्रमअनुसार यही फागुन १० गते मतदाता नामावली प्रकाशन गर्ने जानकारी उनले दिए ।
पछिल्लो राष्ट्रिय जनगणनाको प्रतिवेदन प्राप्त भइनसकेकाले विद्यमान कानूनअनुसार २०६८ सालकै राष्ट्रिय जनगणनाको परिणामलाई आधार मानेर यस निर्वाचनमा मतभार कायम गरिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । राष्ट्रपतिको निर्वाचनको मतदानका दिन साँझ ७ गतेभित्र मतपरिणाम प्रकाशन गर्नेगरी तयारी भएको र कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा भोलिपल्ट फागुन २६ गते नै निर्वाचन गराइने उनले जानकारी दिए । मतदात अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमै हुनेछ ।
निर्वाचन आयुक्तहरूसमेत सहभागी कार्यक्रममा आयोगका सचिव गोकर्णमणि दुवाडीले आयोगबाट स्वीकृत कार्यक्रमअनुसार राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका कार्यक्रम सञ्चालन गर्न निर्वाचन अधिकृतको कार्यालयले कार्यारम्भ गरेको जानकारी दिए । आयोगले न्यायपरिषद्को परामर्शमा उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौड्याललाई उक्त निर्वाचनका लागि निर्वाचन अधिकृत तोकेको छ । निर्वाचन अधिकृत पौड्यालले मुलुकको सर्वाेच्च पदको निर्वाचन स्वच्छ र स्वतन्त्रतरूपमा गराउन दिइएको विश्वासलाई कामबाट पुष्टि गर्ने प्रतिबद्धता व्यक्त गरे । दुवै पदका लागि संघीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहनेछन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार संघीय संसद्का ३३४ र प्रदेशसभाका ५५० गरी ८८४ मतदाता रहनेछन् । प्रतिनिधिसभामा हाल दुई सदस्य निलम्बित र एक सदस्य रिक्त छ ।
स्वीकृत निर्वाचन कार्यक्रमअनुसार राष्ट्रपतिको निर्वाचनका लागि फागुन १० गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ । साथै फागुन १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ । उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन २७ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेलगायतका कार्यक्रम तय गरिएको छ । वर्तमान राष्ट्रपतिको पदावधि २०७९ फागुन २८ गते र उपराष्ट्रपतिको पदावधि आगामी चैत ३ गते समाप्त हुँदै छ । रासस

