प्रधानमन्त्री दाहालको पहिलो विदेश भ्रमण कतार, फागुन २० गते जाने तय
काठमाडौं, फागुन ९ । प्रधानमन्त्री पुष्पकमल दाहालको पहिलो विदेश भ्रमण कतार हुने भएको छ । प्रधानमन्त्री दाहाल फागुन २० गते कतार जाने निश्चित् भएको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहाल विकाससम्बन्धी सम्मेलनमा सहभागी हुन दोहा जाने भएका हुन् । दुई दिने भ्रमणको लागि उनी त्यसतर्फ जान लागेका हुन् । उनी फागुन २२ गते नै काठमाडौं फर्कने तय गरिएको छ ।
प्रधानमन्त्री दाहालले आफ्नो पहिलो विदेश भ्रमण भारत हुनसक्ने बताएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय मिडियालाई दिएको अन्तर्वार्तामा उनले आफ्नो पहिलो विदेश भ्रमण भारत हुनसक्ने खुलासा गरेका थिए ।

