नुवाकोट महोत्सव आयोजकलाई सुशीला लामाको प्रश्न- बाहिरको कलाकारको सिंङ, जुरो केके हुन्छ?



नुवाकोट,फागुन १० । जिल्ला स्तर रहेका कलाकारले नुवाकोट महोत्सवमा कलाकारिता प्रस्तुत गर्न नपाएपछि आयोजक र कलाकार बीच भएको विवाद झन चुलिएको छ ।

बुधबार सम्म चलेको महोत्सव आयोजकले जिल्ला स्तरका कलाकारलाई उपेक्षा गरेको भन्दै केहि कलाकारले सामाजिक संजालमा चर्को बिरोध समेत गरेका हुन् ।

सामाजिक संजाल फेसबुकमा गायिका शुशिला लामाले स्थानीय कलाकारलाई उपेक्षा गरेवापत भविष्यमा नराम्रो हुने चेतावनी दिएकी छिन् । नुवाकोटका कलाकारलाई आयोजकले उपेक्षा गरेको र कुनै समयमा यस्को सवालजवाफ हुने लामाले बताएकी छन् । उनले आक्रोशका साथ भनेकी छिन- ‘बाहिरको कलाकारको त सिंङ जुरो केके आएको हुन्छ? भातेहरु ! हामी पनि कुनै समय बोलौला आयोजक चोरहरु !’

यसैबीच राष्ट्रिय संगीत कर्मी संघ नुवाकोटले बुधबार प्रेस मीटको आयोजना गर्दै नुवाकोट उद्योग वाणिज्य संघमा आर्थिक पक्ष निष्पक्ष छानबिन हुनुपर्ने समेत बताएका छन् । कलाकार आमन्त्रणमा मात्र ३५ लाख बढी खर्चिएको बताउदै उनीहरूले यस्को हिसाबकिताब खोज्ने बताएका हुन् ।

यता आयोजक उद्योग वाणिज्य संघले भने स्थानीय तथा राष्ट्रिय स्तरका सबै कलाकारलाई कुनै प्रकारको उपेक्षा नगरेको जनाएको छ । दर्शकको रुचि अनुसारको कलाकार बोलाएकाले कसैले चित्त नदुखाउन अनुरोध गरेको हो । ‘हामीले स्थानीय स्तरका कलाकारलाई समेत ससम्मान गाउन मञ्च दिएका छौं !’ उद्योग वाणिज्य संघका एक पदाधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्