ट्याक्सी चालकलाई युएई र कतार पठाउन रोक, ‘श्रमिकले न्यूनतम तलब नै पाएनन्’



काठमाडौं,फागुन ११ । वैदेशिक रोजगार विभागले नेपाली कामदारलाई मोटरसाइकल र ट्याक्सी चालक पदमा युनाइटेड अरब इमिरेटस् (युएई) र कतार पठाउन रोक लगाएको छ । विभागले सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो । 

युएई र कतारमा यी पदमा गएका अधिकांश श्रमिक समस्यामा परेको भन्दै विभागले पूर्वस्वीकृति रोक्ने निर्णय गरेको हो । पछिल्लो समय मोटरसाइकल र ट्याक्सी चालक पदमा त्यहाँ जाने श्रमिकले स्वीकृति मागपत्र बमोजिमको न्यूनतम तलब प्राप्त गर्न नसकेको गुनासो बढेको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए । 

उनका अनुसार सहजरूपमा लाइसेन्स प्राप्त गर्न नसक्दा कामदारहरू लामो समय कामविहीन भई बस्नुपरेको र अधिकांश श्रमिक धेरैपटक ट्राफिक कारबाहीमा परी ठूलो जरिवाना बुझाउनुपरेको गुनासो आएको छ । 

सम्बन्धित मुलुकको ट्राफिक नियम र सडक अनुशासनसम्बन्धी ज्ञान र अनुभवको कमीले गर्दा दुर्घटना बढेकाले विभागले उक्त निर्णय लिएको उनले जानकारी दिए । 

विभागका अनुसार अर्को निर्णय नभएसम्म यो नियम कार्यान्वयनमा रहने छ । उक्त पदको मागपत्र प्रमाणीकरण नगर्न कतार र युएईस्थित नेपाली दूतावासलाई समेत अनुरोध गरिएको विभागद्वारा प्रकाशित सूचनामा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्