अन्तर्राष्ट्रिय उडानका लागि खुला



काठमाडौ,फागुन ११ । गत पुस १७ गतेदेखि सञ्चालनमा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि प्रविधिमा आधारित उडान–अवतरण (इन्स्ट्रुमेन्टल फ्लाइट रुल, आईएफआर) उडान सुरु हुने भएको छ । 

क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा निर्माण भए पनि हालसम्म यो विमानस्थलमा आँखाले हेरेको आधारमा गरिने उडान (भिजबल फ्लाइट रुल, भीएफआर) हुँदै आएको छ । आईएफआर प्रणाली सुरु भएसँगै अन्तर्राष्ट्रिय उडानको पनि बाटो खुलेको हो । 

आईएफआर प्रणाली सञ्चालन हुँदा अब पोखरामा उडान अवतरणका लागि चाहिने भिजिबिलिटी (दृश्य क्षमता) तीन हजार छ सयदेखि चार हजार मिटर भए पुग्ने पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताए । 

यसअघि पोखरामा पाइलटले आँखाले आकाश र रनवे हेरेर गरिने भीएफआर उडानका लागि विमानस्थल वरपरको भिजिबिलिटी न्यूनतम पाँच किलोमिटर हुनैपर्ने प्रावधान रहेको थियो ।

उनले भने, “आईएफआर प्रणालीमा आधारित रहेर पोखरामा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानको बाटो खुला भएको छ । अब पोखरामा नियमित उडानका लागि चाहिने ग्राउन्ड, जहाज र पाइलटलगायतका अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएका छन् ।” 

आईएफआरको सुविधाले अब पोखरा विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा आउने र रात्रिकालीन उडानसमेत हुने उनले बताए । उनले भने, “यसअघि भीएफआर प्रणालीमा आधारित रहेर पोखरामा उडान गर्दा सूर्यास्तको समय हेरेर ४ देखि ५ बजेपछि उडान बन्द हुने गरेको थियो । अब आधुनिक प्रविधिको सहायताबाट उडान सुचारु हुन लागेको छ ।”

विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि यसअघि बाधक मानिँदै आएको रिट्ठेपानी डाँडा कटानको काम जारी रहे पनि आईएफआर उडानका लागि आवश्यक डाँडा कटानको काम सकिएको उनको भनाइ छ ।

बढ्यो अन्तर्राष्ट्रिय कम्पनीको चासो

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आईएफआर प्रणाली सञ्चालनको तयारीसँगै अन्तर्राष्ट्रिय हवाई कम्पनी पनि पोखरामा सिधा उडानका लागि चासो देखाउन थालेका छन् । 

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले चैत १२ देखि सुरु हुने गर्मीयामको उडान तालिकाअनुसार नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स पोखराबाट उडान भर्न तयार देखिएका छन् ।

उनले भने, “विदेशी हवाई कम्पनीको दाँजोमा आधिकारिक अनुमतिको प्रक्रिया सुरु नभए पनि कुवेतबाट जजिरा एयरलाइन्स, अबुधाबीबाट बिज एयर र कोरियाबाट कोरियन एयरलाइन्सले चासो देखाएका छन् ।”  

पोखराबाट चार/पाँच घण्टाको दूरीमा हुने उडानका लागि निगमले भारत, बङ्गलादेश, बैङ्ककलगायतका गन्तव्य र हिमालयले चीनका गन्तव्यमा एयरबस ३२० बाट उडान गर्न सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्