भूकम्पप्रतिरोधी भवन निर्माण गर्न भवन संहिताले तोकेका व्यवस्था
काठमाडौं,फागुन १२ । माघ २३ गते टर्कीए र सिरियामा गएको विनाशकारी भूकम्पले नेपालमा ७ वर्षअघिको भूकम्पको अवस्था सम्झना गराइदियो । तर, भूकम्पको क्षति भने ती देशमा अधिक देखियो । ७ दशमलव ८ म्याग्नेच्युडको शक्तिशाली भूकम्पले टर्कीएमा भूकम्पप्रतिरोधी भनिएका बहुतले आवासीय भवन (अपार्टन्मेन्ट)हरू समेत भत्किए ।
नेपालमा पनि २०७२ सालमा गएको भूकम्पले १० लाख मानिस घरविहीन भएका थिए । काठमाडौं उपत्यकाका विभिन्न अपार्टमेन्ट भत्किए । यसको एउटा उदाहरण धापासीको पार्क भ्यू होराइजन हो । भूकम्पको उच्च जोखिम रहेको नेपालका लागि भूकम्पप्रतिरोधी संरचना निर्माण अति आवश्यक छ । भूकम्प र परकम्पहरूका कारण निजी तथा सार्वजनिक भवनहरूमा क्षति पुगेपछि भूकम्पीय जोखिमको विश्लेषण गरी राष्ट्रिय भवन संहिता–२०७७ लागू गरिएको छ ।
शहरी विकास तथा भवन निर्माण विभागले लागू गरेको भवन संहिता कार्यान्वयन गर्न सबै नगरपालिकालाई निर्देशन दिइसकेको छ । भवन निर्माणमा जगदेखि भर्याङ बनाउँदासम्म पालना गर्नुपर्ने १० ओटा प्रावधान लागू गरिएको छ, जसअनुसार आरसीसी ढलानका लागि न्यूनतम निर्माण सामग्री तोकिएको छ । जस्तै, भवन निर्माण गर्दा न्यूनतम स्ट्रक्चरल कंक्रिटको ग्रेड एम २० हुनुपर्छ । तर, भवनको उचाइ १२ मिटरभन्दा बढी भएमा एम २५ ग्रेडको कंक्रिट प्रयोग गर्नुपर्छ ।
यस्तै भवन निर्माण गर्दा डण्डीको ग्रेड एफई ४१५ अथवा सोभन्दा कम तथा टीएमटी डण्डी प्रयोग गर्दा एफई ५०० हुनुपर्छ, जसको तन्किने क्षमता १५ प्रतिशतभन्दा बढी हुनुपर्छ । भवन संहिता पालना गरेर बनाइएका संरचना भूकम्पप्रतिरोधी हुने विभागका अधिकारी बताउँछन् । जग निर्माण, पिलर, बिमको डण्डी गाँस्ने तरीकालगायत विषयमा यहाँ उल्लेख गरिएको छ ।
जग निर्माण
- जगको गहिराई कम्तीमा ५ फिट हुनुपर्छ । पुरुवा माटोमा जग निर्माण गर्नुहुँदैन ।
- जमीनको साविकको माटो भएको गहिराइसम्म पुग्नेगरी जग निर्माण गर्नुपर्छ ।
- स्लोप गरी जग निर्माण गर्दा छेउको मोटाइ कम्तीमा ८ इञ्च को हुनुपर्छ ।
- छिमेकीको साँधसँग जोडिनेगरी राखिएका पिलरहरूको जगमा २ ओटा पिलरका लागि संयुक्त जग निर्माण गर्नुपर्छ ।
- पिलरहरू धेरै नजिक भएको अवस्थामा दुुईओटा पिलरका लागि संयुक्त जग निर्माण गर्नुपर्छ । जगले बोक्ने भारअनुसार दुई तह डण्डीको जाली राख्नुपर्छ ।
- जग ढलानमा भ्राइब्रेटरको प्रयोग गर्नुपर्छ ।
पिलर निर्माण
- पिलरको साइज कम्तीमा पनि ३०० मिमिको हुनुपर्छ ।
- पिलरको साइज बिमको सबैभन्दा ठूलो डण्डीको व्यासको २० गुणा हुनुपर्छ ।
- चौडाइ र गहिराइको अनुपात शून्य दशमलव ४५ भन्दा बढी हुनुपर्छ ।
- पिलरमा न्यूनतम डण्डीको अनुपात पिलरको क्रससेक्सनको १ प्रतिशत र अधिकतम डण्डीको अनुपात ४ प्रतिशत हुनुपर्छ ।
- गोलोमा ६ र चारपाटेमा ८ ओटा डण्डी हुनुपर्छ ।
- डण्डीको व्यास १२ मिमिको हुनुपर्छ ।
- पिलरको रिङको व्यास न्यूनतम ८ मिमि हुनुपर्छ ।
- लम्बाइ डण्डीको व्यासको ६ गुणा हुनुपर्छ । तर ६५ मिमिभन्दा कम हुनुहुँदैन ।
- पिलर ढलान गरिसकेपछि २४ घण्टापछि मात्र फर्माहरू सुरक्षितसाथ खोल्नुपर्छ ।
- पिलरमा डण्डी गाँस्ने तरीका
- पिलरको डण्डी गाँस्नुपरेमा सबै डण्डीहरू एकै लेभलमा नजोडी बढीमा आधा संख्या डण्डीहरू मात्रै जोड्नुपर्छ ।
- पिलरको मध्य भागमा मात्र डण्डीहरू जोड्नुपर्छ ।
- रिङहरू बीचको दूरी १५० मिमिभन्दा बढी हुनुहुँदैन ।
- पिलर गाँस्दा खप्टाउने विधिबाहेक लचकताको प्राविधिक परीक्षण गराउनुपर्छ ।
- बिम निर्माण
- चौडाइ कम्तीमा पनि २०० मिमि
- बिममा अधिकतम डण्डी बिमको क्रससेक्सनको २ दशमलव ५ प्रतिशत हुनुपर्छ
- बिमको चौडाइ र गहिराइको अनुपात सामान्यतया ० दशमलव ३ भन्दा बढी हुनुपर्छ ।
- बिममा कम्तीमा पनि २ ओटा १२ व्यासको डण्डी र तल्लो तथा माथिल्लो तहमा गरी ४ ओटा १२ व्यासको ८ मिमिको हुनुपर्छ ।
- बिमको रिङको व्यास कम्तीमा पनि ८ मिमि हुनुपर्छ ।
- बिमको डण्डी गाँस्ने तरीका
- बिमको तल्लो तहमा बस्ने डण्डीहरू पिलरको छेउबाट कम्तीमा २ फिट छाडेर मात्र गाँस्नुपर्छ । तर बिमको लम्बाइको बीचको एक तिहाइ भागमा डण्डी गाँस्नु हुँदैन ।
- डण्डीको गाँसको लम्बाइ खप्टिने ठूलो डण्डीको व्यासको ५७ गुणा राख्नुपर्छ ।
- गाँसिएका भागभर रिङहरू बढीमा ४–४ इन्चको फरकमा राख्नुपर्छ ।
- बिमको रिङको व्यास न्यूनतम ८ मिमिको हुनुपर्छ ।
- बिम र पिलर जोडिने ठाउँमा ध्यान दिनुपर्ने पक्ष
- बिमका सबै डण्डी पिलरको डण्डीको भित्रबाट लैजानुपर्छ ।
- बिम टुंगिने स्थानमा बिमको डण्डीको व्यासको ५७ गुणा लम्बाइ बराबर पिलरभित्र हुक गरेर मोड्नुपर्छ ।
- स्ल्याब निर्माण
- स्ल्याबको मोटाइ कम्तीमा ४ दशमलव ५ इन्च र डण्डीहरू २ दशमलव ५ लाइनको ६–६ इन्चको दूरीमा राख्नुपर्छ ।
- टपसम्म भएमा टप भागमा स्ल्याबको माथिल्लो डण्डी ३ लाइनको ६–६ इन्चको दूरीमा राख्नुपर्छ ।
- भर्याङ बनाउँदा ध्यान दिनुपर्ने पक्ष
- भर्याङको स्ल्याबको मोटाइ कम्तीमा १२५ मिमि हुनुपर्छ ।
- भर्याङका डण्डीहरू तलको डण्डी बिमदेखि बिमसम्म र माथिको डण्डी मोडिएको ठाउँबाट डण्डीको व्यासको ५७ गुणा वा लम्बाइको ३ भागको १ भागसम्म राख्नुपर्छ ।
- भर्याङका खुड्किलाहरू ढलान गर्नुपरेमा १० मिमिको नोजबार राख्नुपर्छ ।

