‘घरको नक्सा पास गर्दा अनिवार्य बीमा, दाबीका लागि सिफारिश दिँदा राम्रोसँग बुझ्न पर्ने’



काठमाडौं,फागुन १२ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा दाबीका लागि सिफारिश दिँदा घटनाका बारेमा राम्रोसँग बुझेर मात्र दिन आग्रह गरेका छन् ।

अध्यक्ष सिलवालले स्थानीय सरकारले बीमाका बारेमा बुझेपछि स्थानीय जनतासम्म बीमाका बारेमा जानकारी पु¥याउन सजिलो हुने बताए । प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा बुटवल उपमहानगरपालिकामा आयोजित बीमा सम्वन्धी अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।

अध्यक्ष सिलवालले भने,–“स्थानीय सरकार जनताको अभिभावक हो, त्यसैले बीमालाई अनिवार्य गरेर सेवाप्रवाह गरेमा जोखिम न्यूनीकरण हुन्छ । घरको नक्सा पास गर्दा नै बीमा अनिवार्य गर्नुपर्छ । त्यसो भएमा कुनै घटनाबाट क्षति भएमा बीमा कम्पनीबाट नै क्षतिपूर्ति पाउने सुनिश्चितता हुन्छ ।”

सिलवालले भूकम्प, आगलागी, बाढी, पहिरो लगायतका विपत्तिमा राहत वितरणका लागि छुट्याइएको बजेट बीमामा सदुपयोग गर्नसके बीमाबाट सबैको जोखिम व्यवस्थापन हुने बताए ।

सोही अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नागरिकको जीवन तथा सम्पत्तिको जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्नका लागि बीमालाई प्राथमिकताका साथ अगाडि बढाइने जानकारी गराए । बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरी बीमाका समग्र विषयमा जानकारी दिएकोमा प्राधिकरणप्रति आभार प्रकट गरेका थिए ।

यस्तै, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्री देवी अर्यालले पहिलो प्रयासका रूपमा न्यून आय भएका बर्गको बीमा गर्ने कार्यलाई अगाडि बढाइने उल्लेख गरिन् । उनले बीमाको पहुँच विस्तारका लागि उपमहानगरपालिका सम्बद्ध सबै निकायसँग सहकार्य गर्दै अगाडि बढ्ने बताइ्न । उपप्रमुख अर्यालले बीमा कम्पनीबाट बीमाको दाबी भुक्तानीमा ढिलाई हुने गरेको र कोरोना बीमाको दाबी भुक्तानी हालसम्म पनि नपाएको गुनासो समे गरिन् ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले देशका सबै पालिकाहरूलाई बीमाका बारेमा जानकारी दिई पालिकाहरूमार्फत सबै नागरिकलाई बीमाको दायरामा ल्याउने उद्देश्यले प्राधिकरणले बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमहरू आयोजना गर्दै आएको बताए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयसँगको समन्वयमा जीवन तथा निर्जीवन बीमालाई प्रभावकारीरूपले अगाडि बढाउने र त्यसमा कुनै कमी कमजोरी हुन नदिने प्रतिवद्धता व्यक्त गरे । सोही अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले बीमाका समग्र विषयमा जानकारी गराउँदै न्यून आय भएका वर्गसम्म बीमाको पहुँच पु¥याउनका लागि प्राधिकरणले लघुबीमामा जोड दिँदै आएको उल्लेख गरिन् ।

कार्यक्रममा सहभागीहरूले कतिपय बीमा कम्पनीहरूले आवश्यक कागजात विनानै बीमा गराउने तर दाबी भुक्तानीका बेला धेरै कागजात खोज्ने गरेको, बीमा दाबी भुक्तानी प्रभावकारी नभएको, निर्जीवन बीमाभन्दा जीवन बीमा झन्झटिलो रहेको, स्वास्थ्य बीमा प्रभावकारी नभएको, आगलागीबाट घर नष्ट हुँदा पनि बीमा दाबी भुक्तानी नपाएको, भनसुनबाट मात्र दाबी भुक्तानी दिने गरेको, कम्पनी पिच्छे बीमाका नियम फरक फरक हुने गरेको, पशुबीमाको दाबी भुक्तानीमा वडा कार्यालयको सिफारिश समेत नमान्ने गरेको, दाबी भुक्तानीमा एकरूपता नभएको, चोरीका घटनाको बीमाशुल्क निकै बढी भएको लगायतका गुनासाहरू गरेका थिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा अध्यक्ष तथा सदस्य र कर्मचारीहरू, नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयका प्रमुख पूर्ण बहादुर थापा, शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डे, नेको इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का, आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक केदारनाथ भट्ट, बीमा कम्पनीका शाखा कार्यालयका प्रमुखहरू, उद्योगी व्यवसायी र संचारकर्मीहरू लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्