काठमाडौं महानगरका मेलमिलाप केन्द्रमा घर बहाल समस्याका उजुरी धेरै



काठमाडौं,फागुन १३ । काठमाडौं महानगरपालिकाले वडावडामा बनाएको मेलमिलाप केन्द्रमा घर बहालका समस्या समाधान गर्नेको माग बढ्न थालेको छ । महानगरपालिका–२९ डिल्लीबजारमा गठन भएको मेलमिलाप केन्द्रमा घर भाडामा लिएर वर्षौंदेखि तालाबन्दी भएको, बहाल नतिरेको, बहालमा बस्नेलाई निकाल्नुपर्ने लगायत समस्या बढी आएको हो ।

वडासदस्य रेणु श्रेष्ठको संयोजकत्वमा गठन भएको केन्द्रमा परेका उजुरीमा घर भाडासम्बन्धी धेरै छन् । कोरोना महामारीका बेला डेरा छोडेर हिँड्ने अझै नफर्किएकाले कोठा खाली गर्ने निवेदन पनि उत्तिकै रहेको संयोजक श्रेष्ठले जानकारी दिइन् । 

यस वडाका धेरै घरबेटीको आयआर्जनको स्रोत नै डेरा भाडा भएकाले पनि यस्तो निवेदन धेरै आएको उनको भनाइ छ । वडामा चार महिनाअघि केन्द्र गठन गरेर सामान्य समस्यालाई वडामै समाधान गर्न थालिएको हो । 

वडामा मिलाउन नसकिएका समस्या मात्र महानगरपालिकाको न्यायिक समितिमा पठाउने गरेको वडाअध्यक्ष कुश ढकाल बताउँछन् ।  

सामान्य समस्या वडामै समाधान हुन थालेपछि स्थानीयवासी पनि खुसी छन् । महानगरपालिकामा जान दूरी धेरै नभए पनि न्यायिक समितिमा धेरै उजुरी पर्ने गरेकाले धेरै समय लाग्ने गरेका कारण सामान्य समस्या वडामै समाधान हुँदा खुसी लागेको स्थानीय रमिला मिजारले बताइन् । रासस

प्रतिक्रिया दिनुहोस्