नयाँ समीकरणसँगै प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने चुनौति
काठमाडौं,फागुन १४ । पुस १० गते स्थापित भएको सत्ता समीकरण दुई महिना नपुग्दै भत्किएपछि नयाँ समीकरण शुरु भएको छ । राष्ट्रपतिको विषयलाई लिएर नेकपा एमाले र माओवादी केन्द्रबीच मत बाझिएपछि राजनीतिक कोर्ष पुनः परिवर्तनको दिशामा अगाडि बढेको हो । अहिलेको नयाँ समीकरण अनुसार मुलुकले पाँच वर्षमा तीनजना प्रधानमन्त्री पाउनेछ । हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपछि नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने मोटामोटी सहमति भएको छ ।
अन्तिममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । प्रधानमन्त्रीमा त परीक्षण भइसकेका अनुहार दोहोरिने छन्, तर यो देशले ती प्रधानमन्त्रीलाई कतिपटक परीक्षण गर्ने हो त्यो भन्न सकिने अवस्था छैन । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल यो समीकरणले मुलुकको विकास गर्नै नसक्ने बताउछन् । सत्ता स्वार्थले बनेको गठबन्धनले विकास र समृद्धि हुनै नसक्ने उनको आशय छ।
राष्ट्रपतिको निर्वाचनका लागि आउँदो फागुन २५ गते चुनाव हुँदैछ । जसमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्बाङ उम्मेदवार बनेका छन् । दुवै दलहरुले आआफ्नो उम्मेदवारले जित्ने दाबी गरिरहेका छन् । हाल प्रधानमन्त्री प्रचण्डले आठ दलीय सहमति अनुसार कांग्रेसलाई राष्ट्रपतिमा सघाएका छन् , तर यसको स्पष्ट आधार अझै तय भइसकेको छैन ।

