पाँच वर्षदेखि बन्द बायोग्यास प्लान्ट पुनः प्रयोगमा ल्याउँदै काठमाडौं महानगर



काठमाडौं,फागुन १५ । काठमाडौं महानगरपालिकाले पाँच वर्षदेखि बन्द रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालन गर्ने भएको छ ।

फोहरबाट ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित युरोपियन युनियन र कामपाको आर्थिक लगानीमा टेकुस्थित वातावरण विभागको परिसरमा जडान गरिएको बायोग्यास प्लान्ट मर्मत गरी पुनः प्रयोगमा ल्याउन लागिएको काठमाडौं महानगरले  जनाएको छ ।

कामपा वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठका अनुसार कुहिने फोहरबाट बिजुली र ग्यास उत्पादन गरी नवीकरणीय ऊर्जा उत्पादन गर्ने तथा कुहिने फोहरको दिगो व्यवस्थापनका लागि यो परियोजना पुनः सञ्चालन गर्ने तयारी गरिएको हो । यसका लागि कामपाले राष्ट्रिय आविष्कार केन्द्रसँग छलफल गरिरहेको छ । ‘छलफल सकारात्मक भएकाले आगामी हप्तादेखि उक्त परियोजना पुनः सञ्चालनमा ल्याउने तयारीमा छौं,’ उनले भने ।

उक्त परियोजना लागि युरोपियन युनियनले रू. ४ करोड ६० लाख र कामपाले रू. १ करोड ८२ लाख लगानी गरेका थिए । एकीकृत फोहरमैला व्यवस्थापन परियोजनाअन्तर्गत सञ्चालित यस परियोजनाका लागि दैनिक तीन मेट्रिकटन जैविक फोहोर आवश्यक पर्छ । उक्त परियोजनामा ३ हजार किलो जैविक मल उत्पादन हुनाको साथै १४ किलोवाट बिजुली र १३ हजार ५०० लिटर प्रशोधित पानी उत्पादन गर्ने क्षमता छ । विसं २०७० देखि परीक्षणका रूपमा उक्त परियोजना सञ्चालन गरिएकामा २०७४ सालदेखि आधिकारिक रूपमा सञ्चालन गरिएको थियो ।  

लामोसमयदेखि प्लान्ट बन्द हुँदा बायोग्यास उत्पादनमा समस्या हुनुका साथै नेपालमा बायो ऊर्जासम्बन्धी अध्ययन तथा विद्यावारिधि गर्ने विद्यार्थीलाई समस्या परेकाले पुनः जडान गर्न लागेको बताइएको छ। सञ्चालनका लागि दक्ष जनशक्ति अभावका कारण पाँच वर्षदेखि प्रयोगविहीन हुँदै आएको उक्त प्लान्ट पुनः सञ्चालनमा आएसँगै कामपालाई कुहिने फोहर व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्