दर्ता/नवीकरण नगरी साहसिक पर्यटन व्यवसाय गरे कारबाही



काठमाडौं,फागुन १६ । विभिन्न ११ प्रकारका साहसिक पर्यटन व्यवसाय दर्ता, नवीकरण, इजाजत नलिई सञ्चालन गरेको पाइएको भन्दै पर्यटन विभागले कारबाही गर्ने बताएको छ । २ करोड रूपैयाँदेखि ५ करोड रूपैयाँसम्म लगानी भएका बन्जी जम्पदेखि स्काई डाइभिङलगायतका व्यवसाय दर्ताविना नै सञ्चालनमा रहेको भन्दै विभागले दर्ता, नवीकरण र इजाजतका लागि व्यवसायीलाई आग्रह गरेको छ ।

विभागले सूचना जारी गर्दै कानूनी प्रक्रिया पूरा नगरी यस्ता व्यवसाय सञ्चालन गरेको पाइएको उल्लेख गरेको छ । प्रक्रिया नपुर्‍याई व्यवसाय सञ्चालनलाई निरन्तरता दिए कारबाही गर्ने विभागको चेतावनी छ । विभागले साहसिक पर्यटन व्यवसाय सञ्चालन गर्नेहरूको ध्यानाकर्षण पनि गराएको छ ।

विभागले बन्जी जम्प, स्विङ, क्यानोनिङ, स्काई डाइभिङ, जिप फ्लाइङ, हाई रोप्स, स्काई वाक, प्याराग्लाइडिङ, अल्ट्रालाइट, एम्युजमेन्ट पार्क, फन पार्क तथा अन्य साहसिक पर्यटन व्यवसाय दर्ता गराएर मात्रै सञ्चालन गर्नुपर्ने स्पष्ट पारेको छ । विभागले दर्ता, इजाजत नलिई व्यवसाय सञ्चालन गरे व्यवसाय नै खारेज गरिने व्यवस्था रहेको उल्लेख गरेको छ । यस्तै वातावरणीय संरक्षण नियमावली २०७७ अनुसार साहसिक पर्यटन पूर्वाधार निर्माण गर्दा संक्षिप्त वातावरणीय अध्ययन गर्नुपर्ने प्रावधान रहेको पनि विभागले सम्झाएको छ ।

प्रतिक्रिया दिनुहोस्