पूर्वमन्त्री भ्रष्टाचारी ठहर



काठमाडौं,फागुन १७  । विशेष अदालतले नेपाली कांग्रेसका सांसद तथा पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङ तथा पूर्वमन्त्री बद्रिप्रसाद न्यौपानेलाई भ्रष्टाचारी ठहर गरेको छ ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको जग्गा भाडामा अनियमितता गरेको भन्दै गुरुङसहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङ र न्यौपानेसहित प्रमोद मेहता, कुञ्जबिहारीप्रसाद चौधरी, रविन्द्रकुमार यादव, मोहनराज शर्मा, मदनकुमारलाल कर्ण, रविन्द्र कर्णलगायतलाई दोषी ठहर गरेको हो । मुद्दा दायर गरिएकामध्ये पाँचजनाले सफाइ पाएका छन् ।

उक्त मुद्दामा दोषीहरूलाई फागुन २५ गते सजाय तोकिने विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले बताए । उनीहरूले राजधानीको केन्द्रमा रहेको जग्गालाई सस्तो भाडामा लगाई व्यक्तिगत लाभ लिएको अख्तियारको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्