अर्थतन्त्र टाँट पल्टिएको पाकिस्तानमा २० प्रतिशत पुग्यो ब्याजदर, महँगी ५० वर्षयताकै उच्च



एजेन्सी,फागुन १९ । पकिस्तानले प्रमुख ब्याजदर एकै पटक ३ प्रतिशतले बढाएको छ । स्टेट बैंक अफ पाकिस्तान (एसबीपी)ले बिहीवार प्रमुख नीतिगत दर ३०० आधार विन्दुले बढाएर २० प्रतिशतमा पुर्याएको छ ।

अहिले पाकिस्तान झनडै ५० वर्षयताकै उच्च महँगीको चपेटामा परेको छ । गएको महीना पाकिस्तानको खुद्रा मुद्रास्फीति गत वर्षको सोही अवधिको तुलनामा ३१ द्यशमलव ५ प्रतिशतले बढेको थियो । यो झन्डै ५० वर्षयताकै उच्च हो । खाद्यान्न, पेय र यातायात भाडाको मूल्य ४५ प्रतिशत भन्दा धेरैले बढेको छ । 

एसबीपीले नीतिगत दर २०० आधार विन्दुले बढाउने अनुमान गरिएको थियो । अहिले एसबीपीको प्रमुख नीतिगत दर सन् १९९६ को अक्टोबरयताकै उच्च स्तरमा उक्लिएको छ । जनवरीको नीतिगत बैठकमा पनि बैंकले यो दर १०० अधार विन्दुले बढाएर १७ प्रतिशतमा पुर्याएको थियो । सन् २०२२ को जनरीयता नीतिगत दर कूल १ हजार २५ आधार विन्दुले बढाइएको छ ।  

फेब्रुअरीको खुद्रा महँगी सन् १९७४ यताकै उच्च भएको पाकिस्तानको तथ्यांक कार्यालयले अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्ससँग भनेको छ । वार्षिक औसत महँगी आर्थिक वर्ष १९७३/७४ मा ३२ दशमलव ७८ प्रतिशत थियो । फेब्रुअरी सरकारले वस्तु तथा सेवा कर हालको १७ प्रतिशतबाट बढाएर १८ प्रतिशतमा पुर्याउन पूरक विधेयक पारित गरेको थियो ।

जुलाईसम्मको आवमा अतिरिक्त १ खर्ब ७० अर्ब राजस्व उठाउन सो विधेयक पारित गरिएको थियो । अहिले चरम विदेशी मुद्रा अभावबीच बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (IMF) सँगको वित्तीय उद्धार बापतको १ अर्ब २० करोड डलर बराबरको किस्ता हासिल गर्न पाकिस्तान सरकारले कर उठाएर राजस्व संकलन बढाउन लागि परेको छ ।

बुधबार डलरको तुलनामा पाकिस्तानी रुपया १ दशमलव ७३ प्रतिशतले घटेर प्रति डलर २६६ रुपया ११ पैसामा झरेको थियो । यो वर्ष शुरु भएयता रुपयाको भाउ झन्डै १५ प्रतिशत कमजोर भइसकेको छ । यसले पनि महँगी थप बढाइरहेको छ । मार्चमा मूल्य वृद्धि झनै बढ्ने अनुमान गरिएको छ । रामदान नजिकिदै गर्दा यो झनै आकाशिने विश्लेषणहरु आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्