नारायणगढ–मुग्लिन सडक आइतबारदेखि बन्द नहुने



चितवन,फागुन २० । नारायणगढ–मुग्लिन सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा बन्द गरिँदै आएकामा आइतबारदेखि बन्द नगरिने भएको छ ।

भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो ।

पहिलो ३० दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म बन्द गरिएको थियो भने त्यसपछि दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरिएको थियो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार सवारीसाधन रोकेर पाँचठाउँको पहाड काट्न सुरु गरिएकामा तुइन खोलाको मुग्लिनतर्फको पहाडबाहेक अन्यत्रको काम अन्तिम चरणमा पुगेको छ ।

तुइन खोलाको भित्तोलाई विष्फोट गराउन लागिएकाले सवारी रोकेर भित्तो काट्ने काम आजदेखि बन्द गर्न लागिएको हो । तुइन खोलाको पुल निर्माणका क्रममा ६० मिटर अग्लो कडा चट्टानसहितको डाँडो थियो । सो डाँडोलाई काट्न कठिन भएको हो । सो पहाडको अझै ४० मिटर काट्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्