प्रधानमन्त्रीसमक्ष निजीक्षेत्रको हारगुहार : ‘संकट थेग्नै मुश्किल पर्‍यो’



काठमाडौं,फागुन २२ । प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष निजीक्षेत्रले अर्थतन्त्रको अवस्था दयनीय बन्दै जाँदा थेग्नै मुश्किल परेको भन्दै तत्काल पहलकदमी लिन माग गरेको छ ।

प्रधानमन्त्री दाहालले आइतवार बोलाएको बैठकमा निजीक्षेत्रका अगुवाहरूले बजारमा वस्तुको माग नभएको, माग नहुँदा बैंकको ऋण र ब्याजको चक्र बिग्रिएको, आन्तरिक र बाह्य कारण अर्थतन्त्रमा परेको असरले निजीक्षेत्र झन्पछि झन् प्रताडित बन्दै गएको गुनासो गरे । उनीहरूले समस्या समाधानको पहल गर्न पनि माग गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजीक्षेत्रका तर्फबाट प्रधानमन्त्रीलाई बैंक कर्जाको साँवाब्याजको किस्ता तिर्न सक्ने अवस्था नभएको भन्दै उच्च ब्याजदरको कारण तरलतामा देखिएका प्रमुख समस्या सरकारले समाधान गर्नुपर्ने बताए । विगतमा बैंकहरूले व्यवसायीको घरघरमा गएर ऋण दिएकाले अहिले समस्या आएको गोल्छाले बताए ।

उनले बैंकहरूले ऋण दिएको समय र अहिलेको आर्थिक परिदृश्य फरक भइसकेको भन्दै ऋणीले कर्जा तिर्न नसक्ने अवस्था रहेको जिकीर गरे । पछिल्लो समय देखिएको अर्थतन्त्रको समस्या तत्काल सम्बोधन नगरे आगामी दिनमा देशमा ठूलो दुर्घटना निम्तिने पनि उनले बताए । चालू आर्थिक वर्षमा बैंकहरूमा खराब कर्जा ६ प्रतिशतसम्म पुग्ने उनको दाबी थियो ।

अध्यक्ष गोल्छाका अनुसार बैंकको ब्याजदर नघटेसम्म बजारमा माग बढ्दैन र माग नबढेसम्म बजार चलायमान हुन सक्दैन । लघुवित्तमा भएको पछिल्लो आक्रमणमा निजीक्षेत्रको कुनै संलग्नता नरहेको उनको दाबी थियो ।

बैठकमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले जटिल अवस्थामा विषयगत जानकारी तथा जनभावना बुझेका सांसदलाई अर्थमन्त्री बनाउन सुझाव दिए । उनका अनुसार अर्थतन्त्रमा एउटामात्र नभएर धेरै समस्या रहेको र प्राविधिक रूपमै समाधान खोज्नुपर्ने अवस्था आएकाले उपलब्धमध्येबाट सम्भव भएसम्म अर्थतन्त्रबारे जानकारी राख्ने, निजीक्षेत्र, उद्यम व्यवसायबारे चासो भएकालाई अर्थमन्त्री नियुक्त गर्नुपर्छ ।

बैठकमा उनले सार्वजनिक वित्त समस्याग्रस्त हुँदै गएकाले सबै गम्भीर भएर लाग्नुपर्ने धारणा राखेका थिए । बैंकिङ क्षेत्रदेखि समग्र अर्थतन्त्रबारे उद्योगी व्यवसायीले महसूस गरेको, भोगेका विषयमा जानकारी गराइएको मल्लले बैठकपछि बताए । ‘अहिलेको मुख्य समस्या ब्याजदर भएको छ । हिजो ७ प्रतिशत ब्याजदरमा लिएको ऋणको ब्याजदर अहिले १५ प्रतिशत पुगेको छ । ब्याज तिर्न नसक्ने अवस्थामा धेरै पुगेका छन्,’ भेटघाटपछि उनले भने, ‘यसको असर दीर्घकालसम्म पर्नसक्छ । यसको समाधानका लागि बैंकलाई पनि असर नगर्ने, उद्योगी व्यवसायीलाई पनि राहत हुने गरी बाटो खोज्नुपर्ने धारणासहितको सुझाव हामीले दियौं ।’

प्रतिक्रिया दिनुहोस्