चार्जिङ स्टेशन पर्याप्त नहुँदा ईभी प्रयोगमा चुनौती



काठमाडौं,फागुन २२ । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को माग बढ्दै गए पनि चार्जिङ स्टेशनको अभावले प्रयोगमा चुनौती ल्याएको छ । ईभीका नियमित प्रयोगकर्ताले पनि मुख्य शहरबाहिर यात्रा गर्न पेट्रोलियम पदार्थबाटै चल्ने गाडी प्रयोग गरिरहेको जानकार बताउँछन् ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष धुव्र थापा अहिले प्रयोगकर्ताले चार्जिङ स्टेशनको अभावमा विद्युतीय सवारीसाधनलाई आफ्नो दोस्रो रोजाइको गाडी बनाउने गरेको बताउँछन् । ‘मुख्य शहरमा मात्र ईभी प्रयोग गर्नेको संख्या धेरै छ । अहिले पनि अधिकांशले पेट्रोलियम पदार्थबाट चल्ने गाडीलाई नै पहिलो विकल्प मान्ने गरेका छन् । चार्जिङ स्टेशन बढाउन सके ईभीलाई पहिलो रोजाइ बनाउन सकिन्छ,’ उनले भने ।

यातायात व्यवस्था विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि माघसम्ममा ८ हजार ५५२ विद्युतीय सवारीसाधन आयात भएका छन् । यससँगै नेपालमा विद्युतीय सवारीसाधनको संख्या २९ हजार २०० पुगेको छ ।

तथ्यांक हेर्दा नेपाली उपभोक्तामा विद्युतीय सवारीसाधनप्रतिको आकर्षण बढ्दै गएको देखिन्छ । विद्युत् उत्पादनको प्रचुर सम्भावना, बजार अभावमा उत्पादित जलविद्युत् कहिले कहीँ खेर गइरहेको स्थिति र वातावरणलाई प्रदूषणमुक्त बनाउनुपर्ने अनिवार्यतासमेत हेर्दा ईभीको प्रयोग व्यापक रूपमा बढाउनुको विकल्प पनि छैन ।

नाडा अध्यक्ष थापाका अनुसार ‘ईभीको प्रयोग बढ्दा नेपाललाई एकसाथ दुईओटा फाइदा हुन्छ । पहिलो– उत्पादित बिजुलीको खपत बढेर पेट्रोलियम पदार्थ आयातमा विदेशिने रकम जोगिन्छ । दोस्रो– पेट्रोलियम पदार्थबाट चल्ने गाडीबाट हुने प्रदूषण कम हुन्छ ।’

संसारका सबैजसो देशले प्रदूषण कम गर्न विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन दिइरहेका छन् । अटोमोबाइल्स उत्पादक कम्पनीहरूले पनि नयाँनयाँ ब्रान्ड र मोडलका विद्युतीय सवारीसाधन बजारमा ल्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्