अराजक ढंगले होली खेल्ने २१८ जना पक्राउ
काठमाडौं,फागुन २२ । विगत वर्षहरुको तुलनामा यस वर्षको होली सभ्य र अनुशासित भएको भनिएपनि पर्वका नाममा अराजकता मच्चाउनेहरु आज प्रहरीको पञ्जामा परेका छन् । अराजक र उच्छृङ्खल तवरले होली खेलेको आरोपमा प्रहरीले काठमाडौँबाट २१८ जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ, भक्तपुर र ललितपुरबाट उनीहरूलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) हिमालय श्रेष्ठले अर्थपथलाई बताए । पक्राउ पर्नेमा अर्काको इच्छा विपरीतको क्रियाकलाप गर्ने र सार्वजनिक ठाउँमा हो–हल्ला गर्नेहरु छन् । उनीहरूको कसुर अनुसार केहीलाई अभद्र व्यवहार मुद्दा चलाउने र सामान्य होहल्ला गरेको आरोपमा पक्राउ परेकाहरूलाई छाडिने एसएसपी श्रेष्ठले जानकारी दिए ।
काठमाडौँ उपत्यकामा प्रहरीले ५ सय ४३ मोटरसाइकल होल्ड गरेको छ । कागजात साथमा नभएका, मापसे गरेर चलाएका र बिना हेल्मेट चलाएका मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । ती मोटरसाइकल साँझ छाड्न थालिएको छ ।

