मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न स्वीकृति दिइएको छैन : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं,फागुन २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्वीकृति नदिएको बताएका छन् । नेकपा (एमाले) अध्यक्ष केपी ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएको आरोप लगाइरहेका बेला प्रधानमन्त्री दाहालको यस्तो स्पष्टीकरण दिएका हुन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले अहिले मुस्ताङको विषयमा बडो चर्चा भइरहेको उल्लेख गर्दै त्यहाँ स्थानीय तहले विश्वविद्यालय भन्दा पनि कलेज खोल्ने विषयमा धेरै पहिलेदेखि कुरा चलाइरहेको स्पष्ट पारे । एमाले अध्यक्ष ओलीको नाम नलिई प्रधानमन्त्री प्रचण्डले आफूले सो चर्चाको विषयमा कसैलाई आरोप/प्रत्यारोप गर्ने पक्षमा नरहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘‘अहिले मुस्ताङको विषयलाई लिएर बडो चर्चा/परिचर्चा हुने गरेको छ। मुस्ताङमा विश्वविद्यालय खोल्ने रे ! मुस्ताङमा अलि धेरै मान्छेको ध्यान छ। मुस्ताङको बारेमा धेरै पहिलेदेखि चर्चा, परिचर्चा हुने गरेको छ। मुस्ताङमा अमूल्य खनिज पदार्थ छन्। त्यो खनिज पदार्थको उत्पादन र उत्खनन् त्यसको प्रक्रिया मात्रै हामीले ठिक ढंगले गर्न सक्यौ भने सयौं वर्षका लागि नेपालीहको आर्थिक स्थिति संसारकै उच्च बनाउन सकिन्छ भन्ने चर्चा छन्। मुस्ताङको विषयमा हिजोआज एउटा चर्चा तपाईहरुले सुन्नु भएको छ। मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्ने कुरा भन्ने पनि आयो। पक्कै पनि त्यहाँ स्थानीय तहबाट कलेज खोल्ने चर्चा धेरै पहिलेदेखि भएको रहेछ। तर नेपाल सरकारले स्वीकृति दिएको स्थिति होइन।’’

