खोलामा डुबेर दुई बालकको मृत्यु



बाँके,फागुन २३ । बाँकेको कोहलपुर नगरपालिका–१३ र १० वडाको सिमानामा रहेको बन्दा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी सुन्दर तिवारीका अनुसार १२ वर्षीय मनसुन बराल र १५ वर्षीय अनिल भट्टराईको पौडी खेल्ने क्रममा खोलामा डुबेर मङ्गलबार दिउँसो मृत्यु भएको हो ।

उनले सो खोलामा पाँच जना पौडी खेल्न गएकोमा बराल र भट्टराई डुबेपछि अन्यले आफन्तलाई जानकारी गराएको र आफन्तले प्रहरीलाई जानकारी गराएपछि खोज तलाश सुरु गरिएको बताए ।

डीएसपी तिवारीका अनुसार अचेत अवस्थामा खोलाबाट निकालेर उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालमा पुर्याइएकोमा बरालको मृत्यु भएको थियो भने भट्टराईको शव खोलाबाट निकालिएको थियो ।

डुबेर मृत्यु भएका बराल र भट्टराई कोहलपुर १२ ज्ञानज्योति मावि चप्परगौडीमा कक्षा ९ मा अध्यनरत रहेका थिए ।  मृतकको शवलाई पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्जमा पठाइएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्