राष्ट्रपति निर्वाचनका लागि मतदान केन्द्र निर्माण
काठमाडौं,फागुन २४ । यही फागुन २५ गते हुने मुलुकको आगामी नयाँ राष्ट्रपतिको निर्वाचनका लागि मतदान केन्द्र निर्माण गरिएको छ ।
बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा उक्त निर्वाचनका लागि दुईओटा निर्वाचन केन्द्र निर्माण गरिएको निर्वाचन सहायक अधिकृत अमृता शर्माले जानकारी दिइन् । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन संघीय सांसद् र प्रदेशसभा सदस्यका लागि मतदान गर्न बेग्ला–बेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको हो । राष्ट्रपति निर्वाचनमा संघीय संसद्का ३३२ र प्रदेशसभा सदस्य ५५० मतदाता छन् ।
निर्वाचनमा संघीय सांसदको एकमत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ । निर्वाचनका लागि संघीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिष्ट्रार केशव पौडेल र प्रदेशसभा सदस्यको मतदान केन्द्रमा सर्वाेच्च अदालतका उपरजिष्ट्रार लोकनाथ पराजुली खटिएका छन् । राष्ट्रपति पदको निर्वाचनमा नौ दलीय गठबन्धनकातर्फबाट साझा उम्मेदवारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

