एमालेको प्रमुख सचेतकमा गिरी नियुक्त
काठमाडौं,फागुन २८ । नेकपा एमालेले प्रतिनिधिसभाको प्रमुख सचेतकमा पदम गिरीलाई नियुक्त गरेको छ । निवर्तमान स्वास्थ्यमन्त्री गिरीलाई एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।
एमालेका गिरी मंसिर ४ को निर्वाचनमा पर्वतबाट विजयी भएका थिए । उनले गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई २२ सय मतान्तरले पराजित गरेका थिए ।
गिरीले पुस ११ गते गठन भएको पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री भएर ४२ दिन काम गरेका थिए । गठबन्धन परिवर्तन भएसँगै उनि मन्त्रीबाट बाहिरिएका थिए ।
त्यसैगरी एमालेले प्रतिनिधिसभाको सचेतकमा अर्का युवा सांसद महेश बर्तौलालाई नियुक्त गरेको छ । युवा नेता बर्तौलाले मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडालाई पराजित गरेका थिए ।

