उपराष्ट्रपतिको निर्वाचन भोलि
काठमाडौं,चैत २ । उपराष्ट्रपति चयनका लागि भोलि शुक्रबार मतदान हुँदैछ । निर्वाचन आयोगले मतदानका लागि शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरेको छ ।
आयोगले मतदान स्थल काठमाडौंको नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र तय गरेको छ ।
उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद (राष्ट्रिय र प्रतिनिधि) र प्रदेश सभाका सांसदहरु मतदाता रहेका छन् ।
संघीय र प्रदेश सभाका सांसदको मतभार भने फरक-फरक रहेको छ । संघीय संसदका एकजना सांसदको मत ७९ मतभारमा गणना हुन्छ भने प्रदेशका सांसदको मतभार ४८ गणना हुन्छ । संघीय संसदमा ३ सय ३४ जना सांसद छन् । जसमा ३ सय ३० जनाले मात्रै मतदान गर्न पाउनेछन् ।
भ्रष्टाचार अभियोग लागेका कांग्रेस सांसद टेकबहादुर गुरुङले मतदान गर्न पाउनुहुने छैन । त्यसैगरी तनहुँ –१ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल गत फागुन २५ मा राष्ट्रपतिमा विजयी भएपछि सांसद पद रिक्त भएको छ ।
नागरिकता प्रकरणमा चितवन २ बाट जितेका रबि लामिछानेको सांसद पद गएपछि उक्त क्षेत्र पनि रिक्त छ । जनता समाजवादी पार्टीकी समानुपातिक सांसद शहनाज रहमानको फागुन १३ गते निधन भएको थियो ।

