अमेरिकामा बैंक डुब्न थालेपछि सुनमा खनिए विश्वभरका लगानीकर्ता, बन्दैछ मूल्यमा नयाँ कीर्तिमान



काठमाडौं,चैत ४ । तीन महिनाअघि नै सिंगापुरका केही विश्लेषकले सुनको भाउ प्रतिऔंश २५ सय देखि ४ हजार अमेरिकी डलरसम्म पुग्नसक्ने प्रक्षेपण गरेका थिए ।

अमेरिकी डलरको भाउ अहिलेकै हालतमा रह्यो र सुनको मूल्य साँच्चै ४ हजार प्रतिऔंश पुग्यो भने नेपालमा सुनको मूल्य तोलाकै १ लाख ९५ हजार हाराहारी पुग्न सक्ने देखिन्छ । त्यतिबेला उनीहरुको उक्त प्रक्षेपण चाँडै नै फलिभूत होला भन्ने धेरैलाई लागेको थिएन । हुन त अहिले पनि त्यो स्तरमा सुनको भाउ उक्लिहाल्छ भन्ने आधार छैन । तर सुनको भाउ राम्रै महँगिन्छ भन्नेमा संसारभरका ठूला लगानीकर्ता लगभग सहमत देखिएका छन् ।

हालैका दिनमा विश्व बजारमा सुनको मूल्यमा देखिएको उछालले पहेँलो धातुको भाउ बढ्दै जाने अनुमानलाई बल दिएको छ । नेपाली बजारमा पनि शुक्रबार नै सुनको भाउ कीर्तिमानी स्तर नजिक पुगेको छ । यही अवस्था रहे आइतबार सुनको मूल्यले नयाँ ऐतिहासिक स्तर पार गर्ने छ । जसले आगामी वैशाखमा विवाह गर्ने सोचमा भएका जोडीहरुमाथि अतिरिक्त आर्थिक बोझ थप्नसक्ने संभावना बढ्दै गएको छ ।

संसारभर नै घरजग्गा, सेयर बजारजस्ता क्षेत्रमा गरिएको लगानी घाटामा जान थालेपछि सुनमा लगानी गर्ने प्रबृत्ती छ । चाहे सम्पत्ति बजार होस्, चाहे कमोडिटी वा धितोपत्र बजार पनि घाटामा जानसक्छन् । यस्ता बजारहरु आर्थिक मन्दीको समयमा ओरालो लाग्ने हुन्छ । तर कमोडिटी नै भए पनि सुन अन्य वस्तु वा विनिमयभन्दा भिन्न छ । यसलाई संकटको सहाराको रुपमा लिइन्छ । निजी लगानीकर्तामात्रै होइन, सरकार र केन्द्रिय बैंकहरुले नै पनि आर्थिक मन्दी र संकट एवम् युद्ध जोखिमजस्तो समयमा सुन किनेर सम्पत्ती सञ्चित गर्ने गर्छन् । कुनै कारणवस अहिलेको विश्व विनिमय व्यवस्था धरासायी भयो वा कयौं देशका राष्ट्रिय मुद्राहरुले विनिमय हैसियत गुमाए भने पनि सुनमा भएको लगानी सधैं तरल सम्पत्तिको रुपमा रहन्छ । यही कारण सरकारहरु पनि अन्य क्षेत्र छाडेर सुन थुपार्न उद्धत हुन्छन्, जसले सुनको माग बढेर भाउ यसरी नै तीव्र गतिमा महँगिन पुग्छ ।

अहिले सुनको मूल्य संसारभर नै लगातार बढिरहेको छ । छिमेकी भारतमा पनि अहिले सुनको मूल्य प्रति १० ग्राम ५८ हजार १६० भारु छ । भारतीय विश्लेषकहरुले यसअघि नै १० ग्राम सुनको भाउ ६२ हजार भारुसम्म पुग्ने अनुमान गरेका छन् । त्यसो भयो भने पनि नेपालमा सुनको मूल्य तोलामा १ लाख १५ हजारभन्दा माथि पुग्ने संभावना छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले २०७३ माघयताको सुन चाँदीको मूल्य आफ्नो वेवसाइटमा उल्लेख गरेको छ । उक्त मूल्य अनुसार पछिल्लो ७ वर्षमा सुनको मूल्य तोलाको ५२ हजार ८०० रुपैयाँसम्म झरेको थियो । २०७४ असार २६ को उक्त न्यूनतम मूल्यपछि सुनको मूल्य पुनः त्यो विन्दुमा फर्किन सकेको छैन । रुस युक्रेन युद्ध सुरु भएसँगै विश्वब्यापी रुपमा महँगिएको सुनको मूल्यले गत सालको २५ फागुनमा १ लाख ५ हजार ५०० रुपैयाँको कीर्तिमानी उचाइ बनाएको थियो ।

त्यसपछि घट्न थालेको सुनको भाउ तोलामा ८० हजारसम्म आउला भन्ने अपेक्षा गरिए पनि त्यसो भएन । संसारभर बढ्दो ब्याजदर र अमेरिकाको आक्रामक वित्तीय नीतिले डलरको मूल्यमा उच्च बृद्धि गरायो । गत साल सुनको मूल्य उचाइमा पुग्दा डलरको भाउ १ सय २३ रुपैयाँ थियो । तर एक वर्षभित्रै डलरको विनिमय दर १० रुपैयाँ हाराहारी बढ्न पुग्यो । यसले सुनकै भाउ पनि अपेक्षित स्तरमा सस्तिन पाएन र नेपाली बजारमा पहेँलो धातु तोलाकै ९१ हजार ३ सयभन्दा तल ओर्लिएन । गत असोज ५ पछि उकालो लागेको सुनको मूल्य साढे ४ महिनामा १६ हजार २ सय महँगिएर १९ माघमा १ लाख ७ हजार ५०० पुगेको थियो ।

त्यसपछि पनि सुनको भाउ नसस्तिएको त होइन । गत फागुन २५ मा तोलाको १ लाख १ हजारसम्म झरेको सुन त्यसयताका ७ दिनमा ६१ सय महँगिएर शुक्रबार १ लाख ७ हजार १ सय पुगेको छ । यो माघ १९ को कीर्तिमानी मूल्यभन्दा सस्तो हो । तर पश्चिमा बजारमा शुक्रबारको प्रातःकालिन कारोबारमा सुन उच्च दरले महँगिएको छ । नेपाली समयअनुसार शुक्रबार साँझ ६ बजेसम्म सुनको अन्तरराष्ट्रि बजारमा स्पटक गोल्डको भाउ प्रतिऔंश करीब १५ डलर महँगिईसकेको छ । यही रफ्तारले भाउ बढ्ने हो भने आइतबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाउने छ ।

नेपालमा कोभीडका कारण लकडाउन भएका बेला अन्तरराष्ट्रिय बजारमा सुनको भाउ कीर्तिमानी उचाइमा पुगेको थियो । त्यसबेला प्रतिऔंश २ हजार ७० डलरभन्दा माथि पुगे पनि नेपालमा भने लकडाउनका कारण सुनको मूल्य निर्धारण नै भएन । दोस्रो पटक प्रतिऔंश सुनको भाउ २ हजार ५३ डलर हाराहारी पुग्दा नेपाली बजारमा तोलाकै १ लाख ५ हजार नाघेको थियो ।

सुनको मुल्य अन्तरराष्ट्रिय बजारमा कसरी तय हुन्छ भन्ने कुराले नेपाली बजारको भाउलाई पनि प्रभावित पार्छ । अहिले विश्वभर चरमा महँगी र घट्दो लगानीका कारण मानिसहरु सुनमा पैसा खन्याउन थालेका छन् । त्यसमाथि गत साता अमेरिका बैंक डुब्न थालेपछि सुनतर्फ लगानी मोडिने क्रम ह्वात्तै चुलिएको छ ।

२४ फागुनमा अमेरिकाको ‘सिल्भरगेट क्यापिटल’लाई नियामकले नियन्त्रणमा लिएको थियो भने अमेरिकी सेयर बजारमा केही बैंकको सेयरमूल्य उच्च दरमा खस्किएको थियो । त्यसै दिनदेखि अन्तरराष्ट्रिय बजारमा सुनको भाउ उचालियो र ९ दिनको बीचमा सुनको भाउ प्रतिऔंश १ सय २२ डलरभन्दा धेरैले महँगिएको छ । शुक्रबार साँझ अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंश १९ सय ४५ डलर पुगेको छ । सेयर बजार र कच्चा तेलजस्ता कमोडिटीमा भएको लगानी झिकेर सुनमा थुपार्ने परिपाटीले रफ्तार समातेको छ । यसले आउँदा दिनमा पहेँलो धातुको मूल्य अझै चर्काउन मद्दत गर्ने पक्का छ ।

प्रतिक्रिया दिनुहोस्