नागढुंगा सुरुङमार्गको काम ५० प्रतिशत सकियो



काठमाडौं,चैत ६ । नागढुंगा सुरुङमार्गको निर्माण कार्य ५० प्रतिशत सकिएको छ । नेपालकै पहिलो आधुनिक सुरुङमार्ग अर्थात् नागढुंगा टनेलको आधा काम सकिएको छ ।

जापानिज निर्माण कम्पनी हाजमा एन्डो कर्पाेरेशनले डिसेम्बर २०२० (२०७७ पुस) देखि सुरुङमार्गको निर्माण कार्य सुरु गरेको थियो । निर्माण सुरु भएको २ बर्ष २ महिनामा निर्माणधिन आयोजनाको हालसम्मको भौतिक प्रगति ५०.१५ प्रतिशत पुगेको हो ।

आयोजना कार्यालयबाट प्राप्त फेव्रअरी २०२३ मसान्तसम्मको प्रगति विवरणले यस्तो देखाएको हो । आयोजनाको वित्तिय प्रगति भने ७०.५० प्रतिशत पुगेको प्रगति प्रतिवेदनमा उल्लेख छ ।

जाइकाको १६ अर्ब ६३ करोड रुपैयाँ सहुलियत ऋण र नेपाल सरकारको ५ अर्ब ८५ करोड रुपैयाँ लगानीमा यो आयोजना निर्माण भइरहेको छ । यसका लागि २०७६ असोजमा उक्त सुरुङमार्ग निर्माणका जापनीज निर्माण कम्पनी हाजमा एन्डो कर्पाेरेशनसँग ठेक्का सम्झौता भएको थियो । त्यसको १४ महिनापछि अर्थात् २०७७ पुसबाट यसको निर्माण सुरु भएको थियो । बिशेषगरि पश्चिम क्षेत्रबाट राजधानी प्रवेश गर्ने सवारी साधानलाई सहजता प्रदान गर्ने गरि नागढुंगामा उक्त टनेल बनाउन लागिएको छ ।

आयोजना अन्तरगतको टेनेलको मात्रै भौतिक प्रगति भने ७९.२० प्रतिशत पुगेको छ । आयोजनामा मुख्य सुरुङको लम्बाइ २ हजार ६८८ मिटर रहेको छ  । त्यसमा हालसम्म १ हजार ८६९ मिटर सुरुङ निर्माण भएको छ । पूर्व (काठमाडौं)बाट ८९३ मिटर र पश्चिम (नागढुंगा)बाट ९७६ मिटर सुरुङ खनिएको छ ।

यस्तै, सहायक (इभ्याकुएसन) सुरुङको कुल लम्बाइ २ हजार ५५७ मिटर रहेको छ । त्यसको भने हालसम्म २ हजार १२७ मिटर सुरुङ खनिएको छ । त्यसमा पूर्वबाट १ हजार १४७ मिटर र पश्चिमबाट ९८० मिटर सुरुङ खनिएको छ । आगामी असार भित्र नै सुरुङ मार्गको ब्रेक थ्रू गर्ने लक्ष्य राखिएको छ ।

वर्किङ अडिटको भने शतप्रतिशत अर्थात एक सय २६ मिटर नै काम सम्पन्न भएको छ । क्रस–प्यासेजको भने ७४ मिटर निर्माण भएको छ । त्यसको कुल लम्बाइ १२८ मिटर रहेको छ । त्यसमा पूर्वबाट ३८ मिटर र पश्चिमबाट ३६ मिटर निर्माण भएको छ ।

यस्तै, आयोजना अन्तरगत बन्न्ने १२ वटा मध्ये ११ वटा संरचनाको निर्माण सम्पन्न भएको छ । आयोजना कार्यालयका अनुसार ३ अन्डरपास र ४ बक्स कल्भर्ट (माथि गाडी गुड्ने तल पानी बग्ने संरचना) को निर्माण सकिएको छ । यसैगरि १ ओभरपास, ३ वटा पुलको पनि निर्माण सम्पन्न भइसकेको बताइएको छ ।

आयोजना अन्तगत बन्ने १२ संरचना मध्ये फ्लाई ओभर भने निर्माणको चरणमा रहेको छ । हाल फ्लाईओभरलाई चाहिने ९५ प्रतिशत जग्गाको मुआव्जा वितरण भइसकेको आयोजना कार्यायको रिपोर्टमा उल्लेख छ । यसका अलावा फ्लाई ओभरअन्तर्गत बन्ने दुई फाउन्डेसन र २ सहायक संरचना तयार भइसकेको छ । साथै, फ्लाई ओभरको डिजाइन पनि अन्तिम चरणमा छ । यो आयोजना बनाउन कुल २२ अर्ब १४ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ । त्यसमा जाइकाले १६ अर्ब ६३ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराएको छ । बाँकी ५ अर्ब ८५ करोड रुपैयाँ भने नेपाल सरकारले लगानी गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्