‘भौतिक पूर्वाधारमा लगानी अपुग’



काठमाडौं,चैत १० । भौतिक पूर्वाधार क्षेत्रमा लगानी अपुग भएको सरोकारवालाले बताएका छन् । अर्थतन्त्रमा पूर्वाधार क्षेत्रको योगदान बढाउन यस क्षेत्रमा ठूलो लगानी आवश्यक भएको उनीहरूले औंल्याएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित ‘पूर्वाधारमा लगानी’ विषयक अन्तरक्रिया कार्यक्रममा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकासका लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको बताए । एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको अन्तरराष्ट्रिय संगठन (इफाप्का) र नेपाल निर्माण व्यवसायी महासंघले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा उनले पूर्वाधारमा पर्याप्त लगानी नभएको धारणा राखेका हुन् ।

यसैगरी निर्माण उद्योगमा गुणस्तरको अभाव तथा समयमा परियोजना नसकिने परिपाटी पनि कायमै रहेको मन्त्री श्रेष्ठले बताए । ‘परम्परागत शैलीमा काम गरेकाले पनि नेपालको निर्माण उद्योगमा चुनौती थपिएको छ,’ श्रेष्ठले भने, ‘अब नयाँ शैलीमा काम गर्न समय सापेक्ष ऐन कानून बनाउन महासंघ जस्ता संस्थाहरूको महत्त्वपूर्ण भूमिका हुन्छ ।’ भौतिक पूर्वाधार तथा यातायातको क्षेत्रमा फरक ढंगबाट काम गर्न विभिन्न कार्यदल गठन गरी काम थालिसकिएको उनले बताए ।

कार्यक्रममा एशियाली विकास बैंक (एडीबी)का पूर्वउपाध्यक्ष डा. विन्दुनाथ लोहनीले ठूलो आर्थिक वृद्धि चाहने हो भने पूर्वाधारमा गरिने लगानी बढाउनुपर्नेमा जोड दिए । शहरी विकासलाई प्राथमिकता दिँदा अब हरित पूर्वाधार निर्माणमा पनि ध्यान दिनुपर्ने उनले बताए । पूर्वाधार क्षेत्रमा नेपालका वाणिज्य बैंकले दीर्घकालसम्म लगानी गर्न नसक्ने उनको भनाइ थियो । ‘विश्व बैंक, एशियाली विकास बैंक, पूर्वाधार विकास बैंकलगायत मार्फत लगानी ल्याउनु लाभदायक हुन्छ,’ उनले भने ।

नेपाल निर्माण व्यवसायी महासंघ र इफाप्काका समेत अध्यक्ष रवि सिंहले नेपालमा मात्र नभएर विश्वभर नै दिगो पूर्वाधार विकासको आवश्यकता बढ्दै गएको बताए । कमजोर वित्तीय अवस्था तथा प्रविधिका कारण नेपाल जस्ता मुलुकलाई दिगो विकासको लक्ष्य हासिल गर्न कठिन भएको उनको भनाइ थियो ।

महासंघका सल्लाहकार वीरेन्द्रराज पाण्डेले ४६औं इफाप्का सम्मेलन आगामी मङ्सिर ४ देखि ८ गतेसम्म काठमाडौंमा आयोजना गर्न लागिएको जानकारी दिए । पाण्डे इफाप्काका महासचिव समेत हुन् । इफाप्काका कार्यकारी निर्देशक लेभी भी. एसपीरितुले पूर्वाधारको क्षेत्रमा आ–आफ्नो अनुभव आदानप्रदान गर्न यस्ता कार्यक्रम निकै उपयोगी हुने बताए । विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा. घनश्याम गुरुङले नेपालमा दिगो तथा गुणस्तरीय निर्माणमा ध्यान दिन अहिले उपयुक्त समय रहेको धारणा राखे । कार्यक्रममा सार्वजनिक निजी साझेदारीका विविध आयाम, खरीद कानून, ईपीसी कन्ट्र्याक्ट, दिगो पूर्वाधारका सम्भावना, चुनौती लगायत विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्