कास्कीको सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
गण्डकी,चैत १२ । कास्कीको मादी गाउँपालिका वडा नं १ र २ मा निर्मित सुपर मादी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको छ ।
कुल ४४ मेगावाटको जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी आन्तरिक परीक्षण भई आयोजनास्थलबाट १९ किलोमिटर दूरीमा रहेको लेखनाथ सबस्टेशनमा जडान गरिएको कार्यकारी अध्यक्ष पुष्पज्योति ढुंगानाले जानकारी दिए ।
उनका अनुसार आयोजनाको बाँध, सुरुङमार्ग, विद्युत् गृहलगायत सम्पूणर् क्षेत्रको काम सम्पन्न भइसकेको छ । आयोजना निर्माणमा रू. ८ अर्ब ७० करोड खर्च भएको अध्यक्ष ढुंगानाले बताए । विसं २०७५ मङ्सिरदेखि निर्माण थालेको बताउँदै उनले २०७८ चैतदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिए पनि कोरोना महामारी तथा २०७८ असार १ मा मादी खोलामा आएको बाढीलगायत कारणले केही समय ढिलो भएको उल्लेख गरे ।
शुरूमा रू. ७ अर्ब ४७ करोड लागत भनिए पनि बाढी प्रकोप, बैंकको ब्याजदरमा आएको परिवर्तन, अर्थतन्त्रमा देखिएको तरलतालगायत कारणले उक्त लागत बढ्न गएको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार बाढीका कारण रू. १ अर्बभन्दा बढी नोक्सानी भएको छ । मुख्य सुरुङको लम्बाइ करीब छ किलोमिटर रहेको र कमजोर भौगोलिक अवस्थाका कारण करीब ८०० मिटर पेनस्टक पाइप सुरुङभित्र जडान गर्दा करीब २५ करोड लागत थपिएको जनाइएको छ ।
आयोजनाका लागि रू. २ अर्ब १० करोड शेयर पुँजी रहेको छ । बाँकी सानिमा विकास बैंकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, प्रभु बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कंम्पनी लिमिटेडको लगानी रहेको अध्यक्ष ढुंगानाले जानकारी दिए ।
वार्षिक २४२ दशमलव ६५ गिगावाट घण्टा बिजुली उत्पादन हुने आयोजनाको सुपर मादी हाइड्रो पावर लिमिटेड प्रवर्द्धक एवं सिभिल ठेकेदार फेवा कन्ट्रक्सन प्रालि, हाइड्रो मेकानिकल ठेकेदार माछापुच्छ्रे मेटल एण्ड मेसिनरी प्रालि र इलेक्ट्रो मेकानिकल ठेकेदार एशिया प्यासिफिक पावर टेक प्रालि र परामर्शदाता सानिमा हाइड्रो एण्ड इञ्जिनीयरिङ कम्पनी रहेका छन् । –रासस

