बागमती प्रदेशका १५ सय ८५ पत्रकारलाई सामूहिक दुर्घटना बिमा
काठमाडौं,चैत १४ । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका पत्रकारलाई सामूहिक दुर्घटना बीमा गरिदिएको छ ।
कानून र सञ्चार मन्त्रालयको समेत कार्यक्षेत्र रहेको मन्त्रालयले बागमती प्रदेशका १३ जिल्लाका १ हजार ५ सय ८५ जना पत्रकारको लागि राष्ट्रिय बीमा कम्पनी लि मार्फत् प्रति व्यक्ति ४ लाख रुपैयाको दुर्घटना बीमा गरिएको मन्त्रालयका शाखा अधिकृत सुरेन्द्र कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार ६३ करोड ४० लाख रुपैया बराबरको बिमाङ्क रकमको बीमा गरिएको हो । चैत्र ५ बाट लागु हुने बीमालेख अनुसार बीमीत पत्रकारको मृत्यु भएमा कुल ४ लाख रुपैयाँ र दुर्घटना भएको खण्डमा एक लाख रुपैयाँ बराबरको औषधि उपचार खर्च भुक्तानी दाबी लिन सकिने बिमा कम्पनीलाई उद्धृत गर्दै कार्कीले जानकारी दिए ।

