विदेशी फलफूलको कब्जामा नेपाली बजार: आठ महिनामा बाहिरियो साढे १३ अर्ब



काठमाडौं,चैत १६ । आठ महिनामा साढे १३ अर्ब बढीको फलफूल आयात भएको छ । चालु आर्थिक वर्ष फागुन मसान्तसम्ममा १३ अर्ब ५५ करोड १३ लाख १५ हजार रुपैयाँ बराबरको फलफूल आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो । आठ महिनमा सो रकम बराबरको १ लाख १५ हजार ८६४ मेट्रिक विदेशी फलफूल नेपाल भित्रिएको हो । विभागका अनुसार विश्वका विभिन्न मुलुकहरुबाट स्याउ, सुन्तला, केरा, आँप, अंगुर, पाइनएप्पल, स्ट्रबेरी लगायतका फलफूल आयात भएको छ ।

फलफूल खेतीमा नगन्य लगानी र उत्पादनको उचित व्यवस्थापन हुन नसक्दा स्थानीय उत्पादनले थप संकट झेल्नुपर्ने अवस्था पुगेको छ । फलफूल उत्पादनका लागि नेपाल अनुकूल हावापानी र भूगोल रहेको दाबी गरिरहँदा उपभोक्ता बजार भने छपक्कै विदेशी उत्पादनले ढाकेको छ । विशेषगरि छिमेकी दुई मुलुकहरु भारत र चीनमाबाट बढी फलफूल आयात हुने गरेको छ ।

नेपाली उत्पादनले बजार नपाएर खेर गईरहेको अवस्थामा पनि यति ठुलो मात्रामा विदेशी फलफूल आयात हुनु दुखद रहेको व्यवसायीहरु बताउछन् । स्वदेशी उत्पादनले मूल्य नै नपाउने कृषकहरुको गुनासो छ । नेपालमा सामान्य किसानद्वारा उत्पादित फलफूलको बजारीकरणमा ध्यान दिन आवश्यक रहेको उनीहरुको भनाई छ । राज्यले नेपालमा उत्पादित फलफूलको बजारीकरणमा सहजीकरण गरिदिने हो भने स्वदेशी उत्पादन बढाउन मद्दत पुग्ने व्यवसायीहरु बताउँछन् । ‘ढुवानीको समस्याले स्थानीय उत्पादन गाउँमै कुहिन्छन् । ती उत्पादनले बजारको पहुँच प्राप्त गर्न सके आयात प्रतिस्थापनमा थप टेवा पुग्ने थियो’– एक व्यवसायीले भने ।

नेपालको भौगोलिक विविधता र हावापानीको विशिष्टताका कारण संसारको हरेक कुनामा उत्पादन गर्न सकिन्छ । तर, फलफूलहरु नेपालमा उत्पादन गर्न सकिने भए पनि उत्पादन वृद्धि हुन सकिरहेको छैन। फलफूल व्यवसाय खाद्य पोषण सुरक्षाका दृष्टिले मात्र नभई रोजगारी, निर्यात व्यापार र विदेशी मुद्रा आर्जन गर्न सकिने भए पनि सरकारको दीर्घकालीन रणनीति बनाउन नसक्दा फलफूलमा विदेशको भर पर्नुपर्ने अवस्था छ ।

चालु आवको आठ महिनमा सबैभन्दा धेरै स्याउ आयात भएको छ । फागुन मसान्तसम्ममा स्याउ मात्रै ४ अर्ब ४५ करोड ८५ लाख ६० हजार रुपैयाँ बराबरको आयात भएको छ । समिक्षा अवधिमा ५७ हजार १२६ मेट्रिक टन विदेशी स्याउ नेपाल भित्रिएको छ । नेपालमा चीन, भारत, स्वीट्जरल्याण्ड र अमेरिकाबाट स्याउ आयात भएको विभागले जनाएको छ ।

नेपाली बजारमा सबैभन्दा धेरै चिनियाँ स्याउ पाइन्छ । आठ महिनामा चिनबाट २ अर्ब ५२ करोड बढीको स्याउ आयात भएको छ । यस्तै, भारतबाट १ अर्ब ९२ करोड, स्वीट्जरल्याण्डबाट ७२ लाख र अमेरिकाबाट ५० लाख रुपैयाँ बराबरको स्याउ नेपाल भित्रिएको छ । काठमाडौं लगायतका प्रमुख बजारमा भारतीय र चिनीया स्याउ बिक्री हुन्छ । नेपाली उत्पादनलाई पूर्ण प्रयोगमा ल्याउन नसक्दा स्याउ आयातकै नाममा नेपालबाट वर्षेनी अर्बौ रकम विदेशीने गरेको छ ।

चालु आवको फागुन मसान्तसम्ममा सुन्तला मात्रै ७२ करोड ९३ लाख ६३ हजार रुपैयाँ बराबरको आयात भएको छ । सो अवधिमा १३ हजार ११४ मेट्रिक टन सुन्तला नेपाल भित्रिएको छ । आठ महिनामा सबैभन्दा धेरै भारतीय सुन्तला नेपाली बजारमा आएका छन् । भारतबाट ६७ करोड २ लाख रुपैयाँ बराबरको सुन्तला आयात भएको छ । यस्तै, दक्षिण कोरियाबाट ३ करोड ७६ लाख रुपैयाँ र इजिप्ट २ करोड १४ लाख रुपैयाँ बराबरको सुन्तला आयात भएको विभागले जनाएको छ ।

चालु आवको फागुन मसान्तसम्ममा ९३ करोड बढीको अंगुर आयात भएको छ । सो अवधिमा १२ हजार ४७० मेट्रिक टन अंगुर नेपाल भित्रिएको हो । सोमध्ये सबैभन्दा धेरै ९० करोड १० लाख रुपैयाँ बराबरको भारतबाट आयात भएको छ । यस्तै, सो अवधिमा चीनबाट भने ३ करोड ७७ लाख रुपैयाँ बराबरको अंगुर नेपाल भित्रिएको छ ।

यस्तै, सो अवधिमा ४७ करोड ५४ लाख ३ हजार रुपैयाँ बराबरको केरा आयात भएको छ । विभागका अनुसार २४ हजार १७५ मेट्रिक टन केरा नेपाल भित्रिएको हो । चालु आवको फागुन मसान्तसम्ममा आपँ, गाभा लगायतको फलफूल भने २५ करोड २९ लाख रुपैयाँ बराबरको आयात भएको विभागले जनाएको छ ।

चालु आवको आठ महिनामा ६ करोड बढीको किवी आयात भएको छ । विभागका अनुसार सो अवधिमा ६ करोड २ लाख ६८ हजार रुपैयाँ बराबरको किवी नेपाल भित्रिएको हो । फागुन मसान्तसम्म ३ लाख ३३ हजार ४०३ केजी किवी आयात भएको छ ।नेपालमा भारत, चीन लगायतका चार वटा देशबाट सो बराबरको किवी आयात भएको हो । त्यसैगरि ९ करोड २० लाखको पाइनएप्पल र १७ लाख रुपैयाँ बराबरको स्ट्रबेरी आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्