नारायणगढ–बुटवल सडक विस्तारले गति लिँदै
काठमाडौं,चैत १७ । लामो समयदेखि निर्माण सुस्त रहेको नारायणगढ–बुटवल सडक विस्तारले गति लिन थालेको छ । पूर्वी र पश्चिम खण्डमा गरी समग्र भौतिक प्रगति २८ प्रतिशत पुगेको छ । पूर्वी खण्डमा अहिले मासिक साढे ३ प्रतिशत प्रगति रहेको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाले जनाएको छ । यसलाई बढाएर मासिक ४/५ प्रतिशत पुर्याउने लक्ष्य लिइएको आयोजनाका प्रमुख प्रदीपराज शाक्यले बताए ।
सो सडकको विभिन्न खण्डमा कालोपत्रको काम भइरहेको उनले जानकारी दिए । उनले भने, ‘चार लेनमा कालोपत्र गरिने भए पनि पहिले दुई लेनमा गरेर पछि अर्काेतर्फ गरिने योजना बनाइएको छ । एकै पटक सबैतिर साइट पनि खाली भइनसक्ने हुँदा एकातिर गरेर पछि अर्काेतर्फ हुनेछ ।’
सडक विस्तारको गति बढाउन अहिले जनशक्ति र निर्माण सामग्री थप गरिरहेको प्रमुख शाक्यले जानकारी दिए । गिट्टी बालुवा केही मात्रामा अहिले पनि प्राप्त भइरहेको र आगामी दिनमा विभिन्न पालिकाबाट पाइने अपेक्षा गरिएको छ । उनले भने, ‘दिन्छु भनेका पालिकाले दिएमा समस्या हुँदैन ।’ तत्काल अरू समस्या नआएमा प्रगति बढ्ने देखिएको आयोजनाले जनाएको छ । निर्माणस्थल खाली भइरहेको र निर्माण कम्पनीले पनि जनशक्ति बढाएकाले गति बढ्ने देखिएको हो । अहिलेको अवधि साउनसम्म रहेकाले थपका लागि निर्माण कम्पनीले निवेदन दिएको आयोजनाले जनाएको छ । यस विषयमा पहिले अन्तरराष्ट्रिय परामर्शदाताले मूल्यांकन गरेर टुंगो लगाउनुपर्ने उनले बताए ।
काम गरिरहँदा थप्नुपर्ने कारण छ भन्ने परामर्शदाताको सुझावका आधारमा मात्रै थप हुन सक्ने उनले बताए । उनले भने, ‘परामर्शदाताले नै थप्न पर्छ वा पर्दैन र थप्ने भए कति थप्नुपर्छ भनेर प्रतिवेदन दिनुपर्छ ।’ विभिन्न ठाउँमा पुल र कल्भर्ट निर्माणको काम भइरहेको छ । बाटो सजिलो हुन अझै केही समय लाग्न सक्ने प्रमुख शाक्यले बताए । वर्षा शुरू हुनु पहिले नै सबै डाइभर्सन हटाउने प्रतिबद्धता निर्माण व्यवसायीले गरेको उनले जानकारी दिए । विगतका वर्षको वर्षाभन्दा यो वर्ष केही सजिलो हुने उनको भनाइ छ । दुई वर्ष पहिले वर्षाको समयमा सो सडक भएर यात्रा गर्न धेरै समस्या रहेको थियो । गत वर्ष पनि एक–दुई ठाउँमा डाइभर्सन रहेकाले समस्या भए पनि आगामी वर्षामा त्यो नदोहोरिने उनले बताए ।
निर्माणस्थल खाली गराउन प्रक्रिया सकिए पनि काम भइसकेको छैन । निर्माण कम्पनीले सडकमा रहेको विभिन्न कुरा हटाउँदै खाली भएको खण्डमा निर्माणको काम गरिरहेको छ । विद्युत्को पोल सार्ने, खानेपानीको पाइप सार्ने सबै काम निर्माण कम्पनीलाई नै जिम्मेवारी दिइएको छ । उनले भने, ‘उसले आफ्नो तालिकाअनुसार काम गरिरहेको छ ।’ अहिले तत्काल एकातिरबाट काम गर्ने र खाली भएपछि अर्काेतर्फ गर्ने गरी तत्काल एकातर्फको सडक मात्रै कालोपत्र भइरहेको छ । अहिलेको चुनौती भनेको निर्माण कम्पनीको व्यवस्थापन गरेर कामको प्रगति बढाउनु मात्रै रहेको उनले बताए । उनले भने, ‘पहिले अरू पक्षबाट विभिन्न अवरोध भए पनि त्यो सबै समाधान भइसकेको छ, अब जसरी पनि कामको प्रगति बढाउनुपर्नेछ ।’ झण्डै छ दशकपछि अहिले सडक विस्तार भइरहेको छ । एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा विस्तार शुरू भएको सडक निर्माणको लागतमध्ये ८५ प्रतिशत एडीबीले ऋण उपलब्ध गराएको छ भने बाँकी नेपाल सरकारकै लगानी छ । सडक चार लेनमा विस्तार हुने भनिए पनि राजमार्ग शहरी क्षेत्रमा छ लेन र दाउन्ने क्षेत्रमा तीन लेनमा विस्तार हुनेछ ।

