प्रधानमन्त्रीका १६ सारथिमध्ये एक प्रकाशशरण महत
काठमाडौं,चैत १७ । नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार अपराह्न राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीले शपथ ग्रहण गरेका हुन् ।
पद तथा गोपनीयताको शपथ ग्रहण लिनुहुनेमा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृह, डा. बेदुराम भुसाल कृषि तथा पशुपन्छी विकास, अशोककुमार राई शिक्षा, शरदसिंह भण्डारी श्रम, डा. प्रकाशरण महत अर्थ, महेन्द्रिराय यादव महिला बालबालिका, शक्तिबहादुर बस्नेत ऊर्जा तथा जलस्रोत, प्रकाश ज्वाला भौतिक पूर्वाधार, रञ्जिता श्रेष्ठ भूमि सुधार, रमेश रिजाल उद्योग, सीता गुरुङ सहरी विकास मन्त्री छन्।
यसअघि नै प्रधानमन्त्री प्रचण्ड नेतृत्वका सरकारमा सञ्चार मन्त्री रेखा शर्मा, संस्कृति मन्त्री सुदन किराती, संघीय मामिला मन्त्री अमनलाल मोदी र संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको रुपमा सुशिला सिर्पाली ठकुरीले जिम्मेवारी सम्हालिसकेका छन् । शुक्रबार मन्त्रिपरिषद् विस्तारसँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् १७ सदस्यीय बनेको छ ।
१७ सदस्यीय मन्त्री मण्डलसंगै नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महत प्रतिनिधि सभामा समानुपातिक तर्फबाट निर्वाचित भएका छन् । २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत संग्रहमा अग्र मोर्चामा रहेर काम गरेका डा. महतले २०४२ सालको सत्याग्रहमा सक्रिय भूमिका खेलेका थिए । त्यसबेला उनी नेपाल विद्यार्थी संघको महासचिव थिए ।
नेपाली कांग्रेसको नेतृत्वमा सुरु भएको २०४६ सालको जनआन्दोलनमा डा. महतले एक्सन कमिटीमा रहेर काम गरेका थिए । २०५५-५६ देखि कांग्रेसको केन्द्रीय आर्थिक नीति निर्माण समितिमा रहेर काम गर्ने मौका पाएका डा. महत २०५९ देखि निरन्तर कांग्रेसको केन्द्रीय सदस्य रही आएका छन् । उनले २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन र २०७९ को मङ्सिरमा सम्पन्न प्रतिनिधि सभा एवम् प्रदेश सभा निर्वाचनमा पार्टीको केन्द्रीय प्रचारप्रसार समितिको संयोजकको भूमिका सफलतापूर्वक सम्पन्न गरेका थिए ।

